ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न चटारो

२०७७ पौष, २३  
प्रदेश ०२
Image Not Found

पुस २३, सर्लाही । माघे संक्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ । 

गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर विक्री गर्न किसानलाई हतार भएको हो । व्यापारीले व्यावसायिक रुपमा तरुल खेती गरिएका किसानको खेतबारीमै पुगेर तरुल खरीद गर्न थालेपछि उनीहरु उत्साहित भएका हुन् । माघे संक्रान्ति आउन एक हप्ता बाँकी भए पनि अन्यत्र निकासीका लागि अहिलेदेखिनै खन्न थालिएको किसानले बताएका छन् ।

जिल्लाको कर्मैया, जिरायत, बरहथवा, हजरिया, राजघाट र शंकरपुरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा तरुलखेती गरिन्छ । तरुल खेतीबाट यहाँका किसानले वर्षेनी मनग्य आम्दानी गर्दै आएका छन् । 

यो वर्ष आफूले १७ कठ्ठामा लगाएको तरुल रू. दुई लाख १५ हजारमा विक्री गरिसकेको बागमती नगरपालिका–१०, शंकरपुरका किसान मोहन लुम्रे मगरले बताए । 

किसानको खेतमै व्यापारी पुगेर तरुल किन्ने गरेका कारण किसानले आफैले मजदूर लगाउनुपर्ने समस्या समाधान भएको किसानको भनाइ छ । 

यो वर्ष प्रतिकठ्ठा रू. १५ देखि २० हजारसम्ममा तरुल विक्री भइरहेको बागमती नगरपालिका–५ राजघाट टेकानीका किसान शिव पुलामीले बताए । पुलामीले आफ्नो ६ कठ्ठाखेतमा लगाएको तरुल रू. ९० हजारमा व्यापारीलाई विक्री गरेको बताए । व्यापारीले नै खनेर लैजाँदा किसानको ज्याला पनि बच्ने गरेको उनको भनाइ छ । 

जिल्लाका किसानले फलाएको तरुल बढी मात्रामा काठमाडौं लाने गरिएको व्यापारीले बताएका छन् । यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौंलगायत ठूला शहरबाट अत्यधिक माग आइरहेको बरहथवा नगरपालिका–५ का व्यापारी रामनाथ साहले बताए । 

जिल्लामा करीब २५० हेक्टर क्षेत्रफलमा तरुल उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिए । उनका अनुसार प्रतिहेक्टर १५ टनसम्म तरुल फल्ने गर्दछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्