पुस २३, काठमाडौं । ३०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने तयारी गरिरहेको नारायणी डेभलपमेण्ट बैंकको शेयर खरीदमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ ।
पुस २० गते शतप्रतिशत हकप्रद शेयर विक्रीको अनुमति पाएको कम्पनीले त्यसपछि पनि २०० प्रतिशत हकप्रद विक्री गर्ने प्रस्ताव गरेको छ । उक्त हकप्रदप्रति लगानीकर्ता आकर्षित हुँदा बिहीवार कम्पनीको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको छ ।
यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५७ ले बढेर अन्तिम मूल्य रू. ६३२ कायम भएको हो । यस दिन कम्पनीको न्यूनतम रू. ६०३ देखि अधिकतम रू. ६३२ सम्मको मूल्यमा शेयर कारोबार भएको छ ।
शतप्रतिशत हकप्रद पछि २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्तावसहित कम्पनीले माघ १६ गते १९ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ५६ लाख १६ हजार रहेको छ ।
सोही पूँजी बराबरको शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी रू. १३ करोड १२ लाख ३३ हजार पुग्नेछ । सो पूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरी रू. ३९ करोड ३७ लाख १ हजार चुक्तापूँजी पु¥याउने योजना कम्पनीको छ ।