पुस २३, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १५ दशमलव ९१ अंकले बढेर २ हजार १९४ दशमलव ४८ विन्दुमा पुगेको हो ।
बुधवार २ हजार १७८ दशमलव ५७ विन्दुमा पुगेर बन्द भएको बजार बिहीवार २ हजार १८१ दशमलव २७ विन्दुदेखि खुला भएको थियो । यस दिन परिसूचक २ हजार २०४ विन्दुसम्म पुगेर तल झरेको हो ।
बिहीवार कारोबार रकम पनि बढेको छ । बुधवार रू. ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार बराबरको शेयर कारोबार भएकोमा बिहीवार रू. ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो ।
यस दिन २०८ ओटा कम्पनीको ५० हजार ९३३ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर कारोबार भएको हो । कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा यो दिन भने प्रभु बैंकले ओगटेको छ ।
उक्त कम्पनीको बिहीवार रू. ३१ करोड ७१ लाख ३६ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. ३८७ पुगेको छ ।
बिहीवारको कारोबारले सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव शून्य ८ अंक बढेर ४२१ दशमलव २२ विन्दुमा पुगेको छ । यो दिन अन्य समूहको परिसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ ।
व्यापारिक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ७९ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको २ दशमलव शून्य ६ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ४६ प्रतिशत, लघुवित्तको १ दशमलव ३७ प्रतिशत, वित्तको १ दशमलव १६ प्रतिशत, बैंकिङको शून्य दशमलव ७९ प्रतिशत, जलविद्युतको शून्य दशमलव ६४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४५ प्रतिशत, होटलको शून्य दशमलव ३१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २८ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ११ प्रतिशतले परिसूचक बढेको हो ।
बिहीवार मल्टिपर्पस फिनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्स र आइएमई जनरल इन्स्योरेन्सको ९ दशमलव ९२ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९१ र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ८३ प्रतिशतले बढेको छ ।
मल्टिपर्पस फिनान्स कम्पनीको शेयरमूल्य यो दिन प्रतिकित्ता रू. १५ ले बढेर रू. १६५ पुगेको छ भने मिर्मिरे लघुवित्तको प्रतिकित्ता रू. ११२ ले बढेर अन्तिम मूल्य रू. १ हजार २४१ पुगेको छ ।
त्यस्तै आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू. ६१ ले बढेर अन्तिम मूल्य रू. ६७६ , नारायणी डेभलपमेण्टको प्रतिकित्ता रू. ५७ ले बढेर अन्तिम मूल्य रू. ६३२ र प्रभु लाइफको प्रतिकित्ता रू. १७ ले बढेर अन्तिम मूल्य रू. १९० कायम भएको हो । यो दिन एभरेष्ट बैंकको अग्राधिकार शेयर र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य ३ दशमलव ८१ प्रतिशतले घटेर अन्तिम मूल्य रू. ७०६ र खानीखोला हाइड्रोको ३ दशमलव ५७ प्रतिशतले घटेर अन्तिम मूल्य रू. १०८ कायम भएको हो ।