ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१८ वर्षपछि सार्थकता पाउँदै बागलुङ बसपार्क : निर्माण कार्य अन्तिम चरणमा

२०७७ पौष, २३  
गण्डकी प्रदेश
Image Not Found

पुस २३ , गलकोट । बागलुङमा आधुनिक बसपार्क निर्माणले १८ वर्षपछि सार्थकता पाउन थालेको छ । अहिले बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

बसपार्क निर्माणका लागि १८ वर्षअघि बागलुङ बजारवासीले उपल्ला चौरको दाबगरामा व्यक्तिगत जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएको थियो । जग्गा प्राप्त भएको १८ वर्षपछि बसपार्क निर्माणले अन्तिम रुप लिएको हो । 

लामो समय सरकारी उदासिनताका कारण अलपत्र परेको बसपार्क निर्माणको कार्य जनप्रतिनिधि आएपछि २०७५ सालमा बागलुङ नगरपालिकाको पहलपछि गति लिएको थियो । ठेक्का स्वीकृत भएको दुई वर्षपछि बसपार्क निर्माण सकिन थालेको बागलुङ नगरपालिकाले जानकारी दिएको छ । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौं मूल्यपर्ने जग्गा निःशुल्क दिए पनि बसपार्क निर्माण हुन सकेको थिएन । 

बागलुङ नगरपालिका–४ दाबगरामा व्यवस्थित बसपार्क निर्माणका लागि स्थानीयवासी ५२ जनाले निःशुल्क रुपमा उपलब्ध गराएको जग्गामा अहिले बसपार्क निर्माण गरिएको छ । बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिए ।

‘बसपार्क निर्माणको काम लगभग सकिएको छ, रंगरोगन, विद्युत् जडान र पार्कीङस्थलको कालोपत्र गर्न बाँकी हो’, उनले भने, ‘डेढवर्षमा सकिने बसपार्कको निर्माण कार्य कोरोना संक्रमणका त्रासका कारण केही ढिला गरी सम्पन्न हुन लागेको हो ।’ दुई महीनाभित्रै बसपार्क हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीले अन्तिम रुप दिन थालेको उनको भनाइ छ । 

विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रू. आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक ६/६ महिना म्याद थपिएको थियो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको तथा पार्किङस्थलको कालोपत्रको तयारी भइरहेको छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत आर्थिक प्रगति भएको इञ्जिनीयर शर्माले जानकारी दिए । 

कोरोना संक्रमण जोखिमका कारण निर्माणमा केही ढिलाइ भए पनि आगामी फागुनभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्नेगरी बाँकी कामलाई तीव्रता दिइएको बसपार्क निर्माणको जिम्मा लिएका आशिष फेवा जेभीका आधिकारिक प्रतिनिधि प्रकाश तिमिल्सनाले जानकारी दिए । 

नगरवासीको आधुनिक र व्यवस्थित बसपार्क निर्माणको चाहना १८ वर्षपछि सार्थकता पाएको नगर प्रमुख जनकराज पौडेलले बताए । ‘१८ वर्ष पहिला करोडौं मूल्य बारबरको जग्गा नगरपालिकालाई दिइएको थियो, तर जनप्रतिनिधिबिहीन हुँदा काम हुनसकेका थिएन’, उनले भने ‘हामी निर्वाचित भएर आएपछि बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएका थियौं, अहिले लगभग निर्माण सकिएको छ, यसको सञ्चालनका लागि कार्ययोजना बनाउन छलफलसमेत भएको छ ।’ 

स्थानीयवासीले उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साँढे १७ रोपनी जग्गामा बसपार्क र अन्य जग्गामा व्यवस्थित बसोबासका लागि १२७ ओटा घडेरी निर्माण गर्ने गरी नगरपालिकाको नाममा जग्गा हस्तान्तरण गरिएको थियो । 

धान फल्ने जग्गा नगरपालिकालाई बसपार्क बनाउन दिएको १८ वर्षपछि बल्ल सपना साकार भएको जग्गादाता तथा बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले जानकारी दिए । 

‘नगरपालिकालाई जग्गा दिए पनि काम भएको थिएन, अहिलेका जनप्रतिनिधिले बसपार्क निर्माणलाई सार्थकता तुल्याउने काम गरेको छ’, उनले भने, ‘जग्गा दिएको वर्षौपछि खुशी भएको छु, बसपार्क बाहेकको जग्गा व्यवस्थापन गरी घडेरी निर्माण गर्न नगरपालिकाले रू. ३० लाख बजेट विनियोजन गरेको छ, अब ४२ रोपनी जग्गा व्यवस्थित रुपमा घडेरी बनाएर जग्गाधनीलाई फिर्ता गरिनेछ ।’

व्यवस्थित आधुनिक बागलुङ बसपार्कमा ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउन सक्नेछन् । टर्मिनल भवनको भूइँ तलामा कार तथा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ । नगर विकास कोषसँग ऋण सम्झौता गरी बसपार्क निर्माण गरिएको हो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्