ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जलजलामा १५ हजार रोपनी जग्गा अतिक्रमण

२०७७ पौष, २३  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, पर्वत । पर्वतको जलजला गाउँपालिकामा सार्वजनिक जग्गा कब्जा गरी दुरुपयोग गरेको पाइएको छ । सडकको छेउछाउ र खोला किनारको जग्गा मिचिएको गाउँपालिका स्तरीय अनुगमन समितिले पत्ता लगाएको हो । 

‘मालढुंगा– बेनी सडक खण्ड वरिपरिका बजार क्षेत्रमा बढि मात्रामा जग्गा कब्जा गरेको पाईयो,’ सामाजिक विकास अधिकृत लीलाधर सुबेदीले भने, ‘जग्गा फिर्ता गर्न हामीले प्रतिवेदन तयार पारेर दिएका छौँ ।’ 

गाउँपालिकामा सार्वजनिक जग्गा कब्जा गरिएको सर्वसाधारणहरुको गुनासो थियो । गाउँपालिकाले एक समिति बनाएर हालै सार्वजनिक जग्गा खोजी गरेको थियो । गाउँपालिकाले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको हो । 

वडा नम्बर २, ३, ४, ७ र ८ मा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुसी भोगलचन गर्दै आएका हुन् । सार्वजनिक जग्गा खोजी अभियानका क्रममा मालढुंगा–बेनी सडकछेउ तथा कालीगण्डकी किनारमा मात्रै ठूलो परिमाणमा अतिक्रमण गरिएको पाइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताए । 

‘कतिपय जग्गामा आरसीसी भवनसमेत बनाइएको छ,’ उनले भने, ‘कसरी हुन्छ त्यसलाई फिर्ता ल्याएरै छाड्छौं ।’ धेरैजसो जग्गा राजमार्गसँग जोडिएको, कालीगण्डकी नदी किनारमा रहेको र त्यहाँ व्यक्तिले कब्जा गरेको पाइएको उनले बताए । मालढुंगा–बेनी सडकछेउ, मिलनचोक, वारीबेनीलगायत स्थानका जग्गामा व्यक्तिले भवन बनाएका छन् ।

यस्ता जग्गा केन्द्र सरकारसँगको समन्वयमा फिर्ता ल्याएर भाडामा लगाउने, सार्वजनिक आम्दानी लिने गरी उपयोग गर्ने र विपन्नलाई आयआर्जनका लागि उपलब्ध गराउने गाउँपालिकाले जानकारी दिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार पहिलो चरणमा भेटिएको जग्गा व्यवस्थापनपछि दोस्रो चरणमा अरू वडाको जग्गा पनि खोजी गरिनेछ । ‘यो क्षेत्रको बढी मूल्यवान भएकाले पहिलो चरणमा खोजेका हौं,’ उनले भने, ‘यसको व्यवस्थापनपछि अरू वडातिर लाग्छौं ।’

धेरैजसो सार्वजनिक जग्गा बेवारिसे अवस्थामा भएकाले त्यसको खोजी गरी छिट्टै व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । गाउँपालिकाले आन्तरिक आम्दानी बढाउन सार्वजनिक जग्गामा नगदे बाली लगाउने, उद्योगधन्दा खोल्नेलगायत काममा समेत उपयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कर्मचारी व्यवस्थापन गरिसकेको छ ।

सार्वजनिक जग्गा भाडामा लिएर खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँसभाको निर्णय अनुसार गाउँपालिकाले बनौँ, शालिजा र लेखफाँटमा आलु खेती, माझफाँटमा धान, कोदो र गहुँ उत्पदन, बाँसखर्कमा सुन्तला र अन्य क्षेत्रमा मौसम अनुसार बाली लगाउने योजना बनाएको छ । 

जग्गा भाडामा लिने गरी गाउँपालिकाले जग्गा खोजी गर्दै जाँदा व्याक्तिले धेरै जग्गा ओगटेको रहस्या खुलेको हो । गाउँपालिकाले सार्वजनिक जग्गा सबै गाउँपालिका मातहत ल्याउने कार्य शुरु गरेको र एक वर्षमा सबै जग्गा फिर्ता ल्याउने अध्यक्ष मल्लले दृढता व्यक्त गरेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्