ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वैदेशिक लगानीका सडकको निर्माण सुस्त

२०७७ पौष, २४  
समाचार
NA

काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण कम भएर पूर्वाधार निर्माण अघि बढ्न थाले पनि वैदेशिक लगानीका सडक निर्माण सुस्त छ । कोभिड कम भए पनि पूर्णरूपमा नहटेकाले प्रगति कम देखिएको हो ।

खास गरेर चीन सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने भनिएका सडकको निर्माण नेपालमा कोभिड–१९ को संक्रमण देखिएदेखि नै अघि बढिरहेको छैन । त्यतिबेला स्वदेश फर्किएर गएका चिनियाँ फर्किएर नआएकाले निर्माण अघि बढ्न नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । गत आर्थिक वर्षको पछिल्लो चौमासिकमा कोभिड शुरू हुँदा वैदेशिक लगानीका सडकमा भौतिक प्रगति कम थियो । अहिले दोस्रो चौमासिकसम्म पनि निर्माण अघि नबढेकाले प्रगति अझै कम हुन सक्ने उनको भनाइ छ । ‘हामीले चिनियाँलाई सम्पर्क गरिरहँदा पनि उनीहरूले संक्रमण नहटेसम्म आउन नचाहेको बताइरहेका छन्,’ उनले भने ।

चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलंकी सडक आठ लेनमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डको विस्तारमा चासो देखाएको थियो । सरकारले कलंकी–चाबहिल (गोपीकृष्ण हल) सम्म सडक विस्तारका लागि निर्माणस्थल खाली गराइरहँदा चिनियाँ टोली भने फर्किएका छैनन् । उनीहरू नफर्किएसम्म सडक निर्माण अघि नबढ्ने प्रमुख थापाले बताए ।

चीन सरकारको सहयोगमा निर्माण गरिने रसुवागढी–स्याफ्रुबेँसी सडक निर्माण ठप्प छ । यस्तै चीन सरकारकै आर्थिक सहयोगमा निर्माण भएको अरनिको राजमार्ग मर्मतको कामसमेत गर्ने गरी छलफल भए पनि त्यो अहिले अघि नबढेको विभागले बताएको छ । कोभिड–१९ का कारण लामो समयसम्म पूर्वाधार निर्माण सुस्त रहे पनि सरकारका लगानीका अधिकांश योजना अहिले अघि बढिरहेका छन् ।

सरकारले कोभिड–१९ कै कारण निर्माणमा बाधा पुगेका योजनालाई ६ महीना अवधि थप गरेर निर्माण अघि बढाइरहेको छ । अन्तरराष्ट्रिय निर्माण कम्पनी संलग्न योजनामा भने काम गर्न अझै सहज नभएको विभागले बताएको छ ।

निर्माणका लागि कतिपय सामग्री विदेशबाट ल्याउनुपर्ने अवस्थामा त्यो ल्याउने वातावरण सजिलो छैन । भारत सरकार र जापान सरकारको सहयोगमा निर्माणाधीन कतिपय योजना भने कोभिडपछि सञ्चालनमा छन् । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्