ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

इलाममा तरकारी तथा पशुको व्यवस्थित बजार स्थापना

२०७७ पौष, २४  
प्रदेश ०१
NA

इलाम । इलामको प्रशसानिक केन्द्र रहेको इलाम बजारमा व्यवस्थित तरकारी तथा पशु बजार स्थापना भएको छ । बजार क्षेत्रको खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ ।  दुई वर्ष अघिसम्म इलामको तरकारी र पशु बजारको टुंगो थिएन । जिल्लाको प्रशासनिक केन्द्र बनेको लामो दशकौं बित्दा समेत इलाम सदरमुकाममा तरकारी तथा पशु बजारको स्थायी संरचना बनेका थिएनन् ।  

इलाम नगरपालिकाले बजार क्षेत्रको अस्पताल खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ । तरकारी बजार बनाएपछि अहिले किसान, व्यापारी र उपभोक्तालाई पनि सुविधा भएको तारिबारीका किसान सुप्रिम घिमिरेले बताए । ‘पहिले यहाँ फोहोरको डंगुर थियो हिँड्न पनि सकिँदैनथ्यो, अहिले व्यवस्थित तरकारी बजार तथा पशु बजार बनेको छ ।’  

इलाम नगरपालिकाले नयाँ बजार बनाउन इलाम अस्पताल छेउको खोल्सीमा बाँध बाँधेर तरकारी र पशु बजार निर्माण गरेको हो । निर्माण भएको ठाउँमा पशु र तरकारी बजार सञ्चालनसँगै मासु बजार र सवारी पार्किङ गर्ने स्थान रहेको नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । नगरपालिकाले अस्पताल छेउको खोल्सी व्यवस्थित गर्न पटक पटक गरेर १ करोड ९० लाख २६ हजार ८५३ रुपैयाँ खर्चेको छ । १ हजार ९७३ घन मिटर ग्याबिन पर्खाल, १७४ मिटर नाली निर्माण, चारओटा टहरा, ढुंगाको सिँढी, रेलिङलगायतका संरचना निर्माण भएका छन् ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्