ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

धितोपत्र कारोबारको राफसाफ दुई दिनमा झार्ने तयारी

२०७७ पौष, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धितोपत्र कारोबारमा हाल कायम रहेको तीन दिनको राफसाफ चक्रलाई दुई दिनमा झार्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र कारोबारको राफसाफ तथा फस्र्योट चक्र दुई दिनमा झार्ने तयारी गरेको हो ।

यस वर्षको नीति तथा कार्यक्रममा भएको यो व्यवस्थालाई बोर्डले माघदेखि कार्यान्वयनमा लैजाने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कारोबार राफसाफ चक्र दुई दिन कायम गर्ने गरी नियमावली संशोधनको तयारी भएको जानकारी दिए । सम्भवतः पुस महिनाभित्रै नियमावली संशोधन गरी कार्यान्वयनका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिइने ढुंगानाको भनाइ छ ।

धितोपत्र बजार पूर्ण अनलाइन कारोबार प्रणालीमा गइसकेकाले अब राफसाफ प्रणालीलाई पनि छिटो र प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए । अब पहिला जसरी आफूले बिक्री गरेको शेयर ट्रान्सफर गर्न ब्रोकर अफिसै धाउनुपर्ने अवस्था नरहेको र ब्रोकरहरूले पनि आईपीएसमार्फत रकम हस्तान्तरण गर्ने वातावरण बनिसकेकाले यो व्यवस्था कार्यान्वयनमा समस्या नहुने बोर्डको विश्वास छ ।

बोर्डको यस वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फस्र्योट प्रणालीलाई २ दिनेमा झार्ने योजना समावेश थियो । नेपालको पुँजी बजारमा दुई दिनभित्र कारोबारको राफसाफ गर्न सकिने वा नसकिने भन्ने विषयमा अध्ययन–अनुसन्धानपछि बोर्डले उक्त प्रणाली लागू गर्ने तयारी गरेको बताएको छ ।

यसअघि धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) की उपप्रबन्धक प्रवीण पन्धाकको संयोजकत्वमा कारोबार राफसाफ चक्र घटाउने विषयमा अध्ययन तथा अनुसन्धानका लागि समिति गठन गरिएको थियो । उक्त समितिले पनि दुई दिनभित्र झार्दा उपयुक्त हुने सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।

धितोपत्र कारोबारको राफसाफ गर्दै आएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले पनि दुई दिनको राफसाफका लागि मोडालिटी तयार गरिसकेको बताएको छ ।

हाल धितोपत्र कारोबार गरेको तीन दिनभित्र राफसाफ गरिसक्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाबमोजिम शेयर बिक्रीकर्ता आफूले बिक्री गरेको शेयर बराबरको रकम तीन दिनभित्र पाइसक्नुपर्नेछ भने खरिदकर्ताको शेयर खातामा पनि तीन दिनभित्रै शेयर जम्मा भइसक्नुपर्नेछ । अबको व्यवस्थामा यी कार्य दुई दिनभित्र भइसक्नुपर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्