पुस २४, काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीले निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।
आवेदकले शुक्रवार दिउँसोसम्म ४७ लाख ९६ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन् । विक्री प्रबन्धकका अनुसार उक्त कम्पनीको आईपीओमा २ लाख ३१ हजार ८९२ जनाले रू. ४७ करोड ९६ लाख ७० हजार बराबरको आवेदन दिएका हुन ।
यो सर्वसाधारणलाई निष्कासन गरेको १३ लाख ९६ हजार २२ कित्ताको मागभन्दा ३ दशमलव ४३ गुणा बढी हो । कम्पनीले शुक्रवारदेखि १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि,७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको हो ।
यस आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्ताको लागि आवेदन गर्न सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्म रहेको छ ।
कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले मध्यम स्तरको क्रेटिड जोखिम भन्ने बुझाउछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
साथै आवेदकले सि आस्वा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन गर्न सक्नेछन् । आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९०१ हजार पुग्नेछ । कम्पनीले यसअघि नै स्थानिय बासिन्दाका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।