ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ६ महीनाभित्र सकिने

२०७७ पौष, २४  
समाचार
Image Not Found

पुस २४, पोखरा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको ६ महीनाभित्र निर्माण सकिने भएको छ । 

हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य ६ महीनाभित्र सकिने विमानस्थल आयोजनाले जानकारी दिएको छ । उक्त विमानस्थल भैरहवामा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ ।     

पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति र करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिए पनि त्यो भुक्तानी गर्दा स्वतःवित्तीय प्रगति माथि पुग्ने विमानस्थल आयोजनाले जानकारी दिएको छ ।

विमानस्थल निर्माण हालको प्रगति र उपकरण जडानसहित अबको ६ महीनाभित्र विमानस्थल निर्माण सम्पन्न हुने विमानस्थल आयोजना प्रमुख इञ्जिनीयर विनेश मुनकर्मीले जानकारी दिए । ‘अहिलेसम्म निर्माण व्यवसायीले म्याद थप्नुपर्ने भनेका छैनन् । उपकरण जडानको काम चारदेखि छ महिना लाग्छ । पचास प्रतिशतभन्दा बढी उपकरण बाँकी पनि केही समयभित्रै आउने भएकाले छ महीनाभित्रै जडानको काम सकिनेछ’, उनले भने ।

कोभिड–१९ को समस्या नभएको भए यो आयोजना समयावधिभन्दा ६ महीनाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको काम बन्दाबन्दीको अवधिमासमेत निरन्तर सञ्चालन भएको थियो । अहिले १६० चिनियाँ र ६० नेपाली गरी २२० कामदार खटिएका छन् ।

विमानस्थलको हाल दुई हजार ५०० मिटरको धावनमार्ग, एटिसी टावर, सात वटा भवन, एउटा ह्याङ्गरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधार सम्पन्न हुँदैछ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ । प्रविधि जडानका लागि आवश्यक विदेशी कामदार ल्याउन प्रक्रिया पूरा भएको र उनीहरु आउनासाथ उपकरण जडानको काम शुरु हुनेछ । 

प्रविधि जडानका लागि चीनसहित युरोप, अस्ट्रेलिया र अमेरिकाबाट पनि प्राविधिक ल्याउनुपर्ने आयोजनाले जानकारी दिएको छ । पूर्वनिर्धारित समयअघि नै विमानस्थलको निर्माण कार्य सकिने आयोजना प्रमुख मुनकर्मीले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलको निर्माण तीव्रताका साथ भइरहेकाले निर्धारित समयअघि नै काम सम्पन्न हुने बताए । करीब तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करीब २२ अर्ब हुने प्राधिकरणले जानकारी दिएको छ । 

चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिइले विसं २०७३ साउन १८ देखि विमानस्थल निर्माण गरिरहेको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पनि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जानकारी दिइएको छ । 

विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिने क्षमताको हुनेछ । विमानस्थलमा तीन न्यारोबडी, चार एटिआर जहाज र चार ट्वीनअटर जहाज गरी ११ ओटा जहाज पार्किङ गर्न सकिने क्षमता छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्