ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यो साता बजारका महत्वपूर्ण सबै सूचकहरु सकारात्मक : बजारको आकार साढे २९ खर्ब 

२०७७ पौष, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारका महत्वपूर्ण सबै सूचकहरु तुलनात्मक रुपमा सकारात्मक देखिएका छन् । गत साताको तुलनामा यो साता नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स, कारोबार रकम तथा कित्ता र कुल बजार पूँजीकरण जस्ता महत्वपूर्ण सूचकहरु बढेका हुन् । 

गत साताको अन्तिम कारोबार दिन २ हजार ८७ दशमलव २७ विन्दुमा बन्द भएको बजार यो साताको पाँच कारोबार दिनपछि २ हजार १९४ दशमलव ४८ विन्दुमा पुगेको छ । साताको

कारोबारमा नेप्से परिसूचक १०७ दशमलव २१ विन्दु माथि उक्लिएको हो ।ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा यो साता २२ दशमलव २२ अंक माथि उक्लिएको छ । गत साताको अन्तिम दिन ३९८ दशमलव ७० विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४२१ दशमलव २२ विन्दुमा पुगेको हो ।

यो साता साना सँगै ठूला कम्पनीहरुले पनि तुलनात्मक रुपमा नाफा कमाएका छन् ।पाँच कारोबार दिनमा दोस्रो र तेस्रो दिन बजार घटेको थियो भने बाँकी दिन बढेको थियो । साताको पहिलो दिन ८८ दशमलव १२ अंकले बढेको बजार दोस्रो दिन ६ दशमलव ३६ अंक र तेस्रो दिन ३ दशमलव ५४ अंकले घटेको हो ।

चौथो दिन १३ दशमलव शून्य ७ अंक र पाँचौ दिन १५ दशमलव ९१ अंकले बजार बढेको छ । सातामा घटेको दुई दिनको बजारबाट लगानीकर्ताहरुले नाफा बुक गरेका छन् ।

गत साता रू. २२ अर्ब ७६ करोड १६ लाख ३ हजारको शेयर कारोबार भएकोमा यो साता रू. २७ अर्ब १७ करोड २३ लाख १२ हजार बराबरको शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता कारोबार रकम रू. ४ अर्ब ४१ करोड ७ लाख ८ हजार बढी भएको हो । कारोबार रकमसँगै कारोबार कित्ता पनि यो साता गत साताभन्दा १ करोड ३६ लाख ५५ हजार ३९ कित्ता बढी भएको छ ।

गत साता ४ करोड ५१ लाख २७ हजार ६०९ कित्ता शेयर कारोबार भएकोमा यो साता ५ करोड ८७ लाख ८२ हजार ६४८ कित्ता शेयर कारोबार भएको हो ।
धितोपत्र दोस्रो बजारको आकार रू. २९ खर्ब ५५ अर्ब ८६ करोड ४० लाख ६५ हजार बराबरको भएको छ ।

गत साताभन्दा यो साता बजारको आकार रू. १ खर्ब ४७ अर्ब ११ करोड ६० लाख २० हजारले बढेको  हो । गत साताको अन्तिम कारोबार दिन बजारको आकार अर्थात कुल बजार पूँजीकरण रकम रू. २८ खर्ब ८ खर्ब ७४ करोड ८० लाख ४५ हजार रहेको थियो । यसरी हेर्दा यो साताको बजारले आम लगानीकर्ताहरुको मनोबल अझ बढाउने संकेत गरेको छ ।

बजारले ऐतिहासिक उचाइ कायम गरिरहँदा अब के होला भन्ने अन्योलता रहे पनि संयम भएर लगानी गर्ने वातावरणको विकास हुँदै गएको देखिन्छ । पूँजीबजार विकास र विस्तारका लागि नियामक निकायले निर्धारित नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिदैं जाँदा लगानीकर्ताहरु पनि यस क्षेत्रप्रति आकर्षित हुदैं गएको देखिन्छ ।

बोर्डले यसै सातादेखि धितोपत्र दोस्रो बजारमा कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन पनि घटाएको छ भने आगामी केहि दिनभित्र राफसाफको अवधि पनि दुई दिनभित्र कायम गर्ने तयारी भएको छ । यी विषयले पनि आगामी दिनमा लगानीकर्ताको मनोबल अझ बढ्ने बलियो सम्भावना देखिन्छ ।
 

चौथो सातासम्म नेपाल लाइफको निरन्तर सर्वाधिक रकमको कारोबार 

यो साता पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीकोे निरन्तर चौथो सातासम्म सर्वाधिक रकको कारोबार भएको हो । गत सता रू. १ अर्ब ८६ करोड ९० लाख बराबरको शेयर कारोबार भएको कम्पनीको यो साता रू. १ अर्ब ६१ करोड ९० लाख ४७ हजार बराबरको शेयर कारोबार भएको हो । कम्पनीको ५१ प्रतिशत लाभांश प्रति लगानीकर्ताको आकर्षण निरन्तर बढेको देखिन्छ । 

यस साता सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको स्थान ओगटे पनि गत साताभन्दा कारोबार रकम भने कम भएको छ । यो साता कम्पनीको शेयरमूल्यमा भने उतारचढाब देखिएको छ । रू. २ हजार २१६ सम्म पुगेको कम्पनीको मूल्य साताको अन्तिम दिन रू. २ हजार ३८३ कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य रू.२ हजार २९५ कायम भएको थियो । साताको कारोबारमा कम्पनीको शेयरमूल्य प्रतिकित्त रू. ८८ ले वृद्धि भएको हो ।
 

नेपाल दुरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण यो साता ९ अर्बले वृद्धि

धितोपत्र दोस्रो बजारमा हाल सर्वाधिक रकमको बजार पूँजीकरण रहेको नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य यो साता पनि बढेको छ । उक्त कम्पनीको कुल शेयरको मूल्य यो साताको अन्तिम कारोबार दिनसम्म रू. १ खर्ब ९० अर्ब २० करोड कायम भएको छ । 

यो मूल्य गत साताको अन्तिम कारोबार दिन रू. १ खर्ब ८१ अर्ब २० करोड रहेको थियो । सातामा उक्त कम्पनीको कुल शेयरमूल्य रू. ९ अर्बले बढेको हो । 

गत साता प्रतिकित्ता रू. १ हजार २०८ रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू. १ हजार २६८ पुगेको हो । धितोपत्र दोस्रो बजारमा यस कम्पनीको १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ । 
साताको बजारमा देखिएको परिवर्तनको अवस्था :

                                                                   स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्