पुस २५, रोल्पा । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पाको थबाङ गाउँपालिका–३ मिरुलका पुनबहादुर रोकाको मृत्यु दाबी रकम शनिवार हस्तान्तरण गरेको छ ।
वैदेशिक रोजगारीका क्रममा गत फागुन २४ गते कतारमा ज्यान गुमाएका रोकाको बीमा रकम १० लाख, क्रिया खर्च बापत रू. १ लाख र आय नोक्सानी बापत रू. २ लाख गरी जम्मा रू. १३ लाखको चेक मृतकका भाई श्यामप्रसाद रोकालाई हस्तान्तरण गरिएको हो ।
युनियन लाइफ रोल्पा शाखाद्वारा लिबाङमा आयोजित मृत्यु दाबी रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रदेश उप–प्रमुख गोविन्द रेग्मीले मृतकका भाई श्यामप्रसाद रोकालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
उक्त बीमाको दाबी भुक्तानी यसअघि नै हुनुपर्ने भए तापनि कोरोना महामारीका कारण केहि ढिलाई भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखा प्रबन्धक सुनिल ओलीले जानकारी दिए ।
यसैबीच युनियन लाइफ इन्स्योरेन्स कम्पनी रोल्पा शाखाले शनिवार नै लिबाङमा दुई दिने अभिकर्ता तालिम सम्पन्न गरेको छ । नेपालमा जीवन बीमाको अवस्था, यसको महत्व र युनियन लाइफ सम्बन्धि अभिकर्ता तालिम सम्पन्न गरिएको शाखा प्रबन्धक ओलीले बताए ।
तालिममा रोल्पाका १० ओटै स्थानीय तहबाट २२ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो भने अभिकर्ताहरुलाई कम्पनीका प्रदेश उप–प्रमुख गोविन्द रेग्मीले प्रशिक्षण दिएका थिए ।