ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सेजमा अनिच्छा

२०७७ पौष, २६  
सम्पादकीय
Image Not Found

सरकारले निर्यात व्यापार बढाई रोजगारी सृजना तथा आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित भैरहवामा स्थापना गरेको विशेष आर्थिक क्षेत्र (सेज) २० वर्षमा पनि पूर्ण सञ्चालनमा आउन सकेको छैन । सरकारले उद्योगीले भनेअनुसार यहाँ स्थापना हुने उद्योगलाई सुविधा दिने दाबी गर्दै आएको छ भने व्यवसायीले विभिन्न गुनासो गर्दै आइरहेका पनि छन् । तर पनि सेज सञ्चालनमा किन समस्या आइरहेको छ त ?

सेज स्थापनाको उद्देश्य निर्यात बढाउनु हो । यसो गर्न रोजगारी पनि सृजना हुन्छ । सरकारको उद्देश्य भाडा खानु होइन भने हालको भाडा महँगो भएको उद्योगीको गुनासालाई तत्काल सम्बोधन गर्नुपर्छ ।

सरकारको काम गराइ निकै सुस्त गतिमा छ भन्ने कुरा त सेजको स्थापना गर्न लागेको समयावधि नै संकेत गर्छ । चीनले यस्तो क्षेत्रमा सञ्चालन हुने उद्योगका लागि विशेष सुविधा दिएकाले विश्वमा निर्यात व्यापारमा ऊ निकै अघि बढेको हो । त्यसै अवधारणाअनुसार नेपालमा पनि सेज स्थापनाका लागि सन् २००१ देखि नै प्रक्रिया सुरू भएको थियो । तर, यसका लागि ऐन बनाउनमात्रै १ दशकभन्दा बढी समय लागेको थियो । तर, यसरी शुरू भएको सेज अझै पनि पूर्णरूपमा सञ्चालनमा आउन नसक्नुमा प्रमुख रूपमा सरकारकै कमजोरी देखिन्छ ।

सेजमा अहिले जम्मा तीनओटा उद्योग सञ्चालनमा छन् । १९ ओटा उद्योगले जग्गा मागे पनि अहिले उनीहरू यसबाट पछि हटिसकेका छन् । सेजको तत्कालका समस्या विद्युत् आपूर्तिको देखिन्छ । यसका लागि ३३ केभीए प्रसारण लाइन चाहिने भए पनि वन र वातावरणको किचलोका कारण यो बन्न सकेको छैन । अर्को, सेज स्थापनाको उद्देश्य निर्यात बढाउनु हो । यसो गर्न रोजगारी पनि सृजना हुन्छ । सरकारको उद्देश्य भाडा खानु होइन भने हालको भाडा महँगो भएको उद्योगीको गुनासालाई तत्काल सम्बोधन गर्नुपर्छ ।

त्यसो त सेजमा कम कर्मचारी हुनु तथा प्रमुख कार्यकारी नहुनुजस्ता समस्याले पनि उद्योगीहरू निरुत्साही भएको बुझ्न सकिन्छ । कर्मचारी नभएका कारण बारम्बार सेज कार्यालयमा धाइरहनुपरेको गुनासो पक्कै पनि यसको उद्देश्य विपरीत हो । सेज राम्ररी सञ्चालनमा नआउँदै यसका पूर्वाधारहरू बिग्रन थालेको पाइन्छ । यसले सेज स्थापनाको औचित्यमै प्रश्न उठाएको छ ।

नेपाली उद्योगको प्रतिस्पर्धी क्षमता निकै कमजोर रहेको छ । यस्तोमा सेजमा स्थापना भएका उद्योगबाट तत्कालै निर्यात गर्न सकिन्छ भन्ने सोचमा पनि परिवर्तन ल्याउनु पर्ने देखिन्छ । यद्यपि यसको स्थापना नै निर्यातको लक्ष्यका साथ गरिएको हो । शुरूमा यहाँको ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने अनिवार्य थियो । व्यवसायीकै मागमा अहिले त्यसलाई ६० प्रतिशतमा झारिएको छ । व्यवसायीले अझै यो अव्यावहारिक भएको बताइरहेका छन् । विशेष सुविधा दिएका कारण उनीहरूले निर्यात गर्नैपर्ने हुन्छ । अन्यथा यहाँका उत्पादनसँग यसबाहिरको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा आन्तरिक बजारमा समस्या हुन सक्छ । यस्तोमा यहा“को उत्पादन कति मात्रामा आन्तरिक बजारमा विक्री गर्न दिने र कतिचाहिँ अनिवार्य रूपमा निर्यात गर्नुपर्ने भन्ने व्यवस्थामा विवाद आउन सक्छ । यस्तोमा निजीक्षेत्रमाथि सुविधा मात्रै माग गरेको तथा उद्योग खोल्न भने पछि हट्ने गरेको आरोप लागेको छ जुन चिन्तनीय छ ।

भैरहवा सेज सञ्चालनमा आउन सकेको छैन । अन्य औद्योगिक क्षेत्रमा पनि पर्याप्त उद्योगहरू छैनन् । ठूलो परिमाणमा जग्गा चाहिने उद्योगहरूले जग्गा पाउन सक्ने अवस्था पनि छैन । यस्तोमा सरकारले उद्योगहरूलाई सहज रूपमा उनीहरूले चाहेजति जग्गा उपलब्ध गराइदिन सक्नुपर्छ । अन्य देशमा रोजगारी सृजना गर्ने उद्योगका लागि सरकारले जग्गाप्राप्तिलगायत विषयमा निकै सहजीकरण गरिदिने गरेको छ । तर, नेपालले सहजीकरणको नीति लिए पनि व्यवहारतः यस्तो भएको पाइँदैन । तैपनि सरकारले सातै प्रदेशमा सेज स्थापना गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ । योजना आफैमा राम्रो भए पनि हालको सेज पूर्ण सञ्चालनमा नआउँदा तिनको औचित्य पुष्टि हुने आधार देखिँदैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्