काठमाडौं (अस) । नेपालका लागि जेसीबी ब्रान्डका हेभी उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन मेगा बैंकसँग सम्झौता गरेको छ ।
जेसीबी इन्डिया लिमिटेडका कन्ट्री हेड वीरेन्दर भारद्वाजको उपस्थितिमा भएको कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवाल र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
योसँगै देशभरिका जेसीबीका ग्राहकले कम्पनीका उत्पादन खरिद गर्न मेगा बैंक दिने विशेष सुविधा उपभोग गर्न सक्नेछन् ।
सहमतिपछि दुवै संस्थाले ग्राहक हितलाई ध्यानमा राखेर देशभर फैलिएका कम्पनीका शाखामार्फत सेवा प्रदान गरिने एमएडब्लु अर्थमुभर्सका अध्यक्ष अग्रवाल बताए ।
जेसीबीले हाल नेपालको निर्माण तथा हेभी उपकरण ब्रान्डको ५० प्रतिशत बजार हिस्सा ओगटेको दाबी अग्रवालले गरे ।
नेपालका लागि जेसीबी इन्डियाका कन्ट्री हेड वीरेन्दर भारद्वाजले एमएडब्लु अर्थमुभर्स जेसीबीको सर्वोत्कृष्ट डिलरमध्ये पर्ने बताए । नेपाली बजार मागलाई ध्यानमा राखेर शक्तिशाली मेसिन र बिक्रीपछिको सेवा उपलब्ध गराएकै कारणले एमएडब्लु अर्थमुभर्स उत्कृष्ट डिलर बन्न सफल भएको उनको भनाइ छ ।