ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घलेगाउँमा पर्यटकको चहलपहल

२०७७ पौष, २६  
गण्डकी प्रदेश
NA

लमजुङ । नमूना होमस्टे गाउँको रूपमा रहेको घलेगाउँमा पर्यटक आगमन बढेको छ । लमजुङको क्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा आन्तरिक पर्यटकको चहपल हुन थालेको हो ।     

कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता पर्यटक आउने क्रम बढेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले बताएको छ । महामारीका कारण बन्द रहेको घरबास गत भदौ १ गतेदेखि खुला गरिएको थियो । अहिले दैनिक सयदेखि १५० जनासम्म आन्तरिक पर्यटक आउन थालेको समितिका सचिव उमलबहादुर विकले बताए । यहाँ ३७ घरमा घरबास सञ्चालनमा छन् ।   
 
विगतमा भने यस समयमा दैनिक २००/३०० र वार्षिक करीब २५ हजार पर्यटक आउने गर्थे । पर्यटक नआउँदा आम्दानी समेत रोकिएपछि निराश तथा चिन्तित बनेका घरबास व्यवसायी पछिल्लो समय देखिएको चहलपहलले उत्साहित छन् । समितिका अनुसार अब विस्तारै पर्यटक बढ्दै गएर पुरानै लयमा फर्किने अपेक्षा पर्यटन व्यवसायीको छ ।
पर्यटकको चहलपहल हुँदा यहाँका प्रतिघरबास सञ्चालकले कम्तीमा ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म मासिक आम्दानी गर्ने गरेको घरबास सञ्चालक दीर्घराज घलेले बताए । ‘हामीले प्रतिपर्यटक १ हजार १०० रुपैयाँमा खाना बस्न र सुत्न दिने गरेका छौं,’ उनले भने । यतिबेला कोभिडका कारणलेस्वागत कार्यक्रम र गुरुङ समुदायको कुनै पनि सांस्कृतिक कार्यक्रम भने नगरिएको उनले बताए ।

२०५६ सालदेखि शुरू भएको ग्रामीण पर्यटन प्रवद्र्धनका प्रयासबाट घलेगाउँमा २०७५ पुस १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘स्मार्ट भिलेज’को शुभारम्भ गरेका थिए । यहाँका पर्यटन पूर्वाधार विकासका लागि गतवर्ष गण्डकी प्रदेश सरकारको २९ लाख र क्होलासोथर गाउँपालिकाको १५ लाख रुपैयाँमा यहाँका १२५ घरमा रातो रङको टिनको छाना लगाइएको समितिले बताएको छ ।     

मुलुकमा २०६२/२०६३ को जनआन्दोलनपछि गठित सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो । घलेगाउँ समुद्री सतहदेखि २ हजार १०० मिटर उचाइमा रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण घलेगाउँ गुरुङ जातिको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँसमेत हो । यहाँ आउँने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान (चामल), मकै, कोदोका परिकार, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासु लगायत परिकार खुवाउने गर्दछन् । रासस

प्रतिक्रिया [1]
User Image

Gyanu adhikari

[Jan 9, 2021 11:52pm]

अती सुन्दर ठाऊ.. स्वर्ग


प्रतिक्रिया दिनुहोस्