ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पूर्ण छात्रवृत्तिमा प्राविधिक विषय पढाउँदै स्थानीय तह

२०७७ पौष, २६  
प्रदेश ०५
NA

रुकुम (अस) । नुदानमा दुईजनालाई पाइलट पढाएको रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले १७ जना विद्यार्थीलाई छात्रवृत्तिमा प्राविधिक विषय पढाएको छ । नगरपालिकाले १२ छात्र र पाँच छात्रालाई पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गरेको हो । जेहेनदार भए पनि गरीबीका कारण पढ्न नसकेका विद्यार्थी प्राविधिक धारको तीनवर्षे कोर्स अध्ययनरत छन्, जस अन्तर्गत दुईजनाले हेल्थ एसिस्टेन्ट, तीनजनाले इन्जिनियरिङ र तीनजनाले सबइन्जिनीयरिङ विषय पढेको नगरपालिकाले बताएको छ ।

यसैगरी दुईजनाले कानून, तीनजनाले आईटी, दुईजनाले कृषि र दुईजनाले स्टाफ नर्स अध्यययन गरिरहेका छन् । कोर्स पूरा गर्दा लाग्ने सम्पूर्ण शुल्क नगरपालिकाले तिरिदिने नगर उपप्रमुख गीता नेपालीले बताइन् । खाने–बस्ने व्यवस्था भने विद्यार्थी आफैले गरिरहेका छन् । पढ्न चाहेको विषय र प्रवेश परीक्षा पास गरेको प्रमाणसहित छात्रवृत्तिका लागि निवेदन दिएकामध्येबाट विद्यार्थी छनोट गरिएको उनले जानकारी दिइन् । नगरपालिकाका अनुसार २०७५ मा ५ र २०७६ सालमा १२ जनालाई छात्रवृति सुविधा दिइएको छ । यो वर्ष कोरोना महामारीका कारण प्रक्रिया शुरू हुन सकेको छैन । कुनै पनि विषय वा कोर्स पढ्न चाहनेहरू आर्थिक अभावकै कारण वञ्चित नभएको नगरप्रमुख गोरख केसीले बताए । ‘शिक्षा पाउनु सबैको मौलिक हक हो,’ उनले भने, ‘हामीले अभियानकै रूपमा वर्षेनि यो कार्यक्रम अगाडि बढाइरहेका छौं ।’

उनका अनुसार १७ जना विद्यार्थी पढाउन नगरपालिकाले ३९ लाख ४४ हजार रुपैयाँ खर्चेको छ, जसमध्ये एक विद्यार्थीले १ लाखदेखि ३ लाख ५० हजार रुपैयाँसम्म सहयोग पाएका छन् । प्राविधिक दक्ष जनशक्तिको व्यवस्थापनका लागि नगरपालिका आफै अघि सरेको केसीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्