ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२० दिन बन्द गरिँदै तातोपानी नाका

२०७७ पौष, २६  
वाग्मती प्रदेश
NA
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । कात्तिक १२ गतेदेखि खुला भएको तातोपानी नाका पुनः बन्द हुने भएको छ । नेपाल–चीन जोड्ने मितेरी पुलको जग मर्मतका लागि चिनियाँ प्रशासनले तातोपानी नाका २० दिनका लागि बन्द गर्न लागेको हो । २० जनवरीदेखि २० दिन नाका बन्द गर्न लागिएको खासास्थित तिब्बत डिपार्टमेन्ट अफ कमर्श फरेन ट्रेडले जानकारी दिएको छ । मितेरी पुल जगको दायाँबायाँ मर्मतका लागि नाका बन्द गरिनेबारे जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गरेको छ । बर्खाको बाढी र स्वशासित क्षेत्र तिब्बतको न्यालममा रहेको विभिन्न तालमा जमेको पानी खोल्दा बढेको भोटेकोशीको बहावले मितेरी पुलमा क्षति पुर्‍याएको थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने नाका बन्द हुनेबारे आधिकारिक खबर नआएको बताए । ‘हल्ला सुनेका छौं, जानकारी आउनै बाँकी होला,’ उनले भने । बाढीले क्षति पु¥याएको मितेरी पुलको जग बलियो बनाउन आपूmहरूले ६ महीनाअघि नै चीन सरकारलाई अनुरोध गरेको उनको भनाइ छ ।

यस्तै तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पुल बनाउने सुने पनि नाका बन्द हुनेबारे आधिकारिक जानकारी नपाएको बताए । ‘दुई देशबीचको सीमाक्षेत्र भएकाले हामीसँग पनि छलफल गरेर मर्मत गर्नुपर्ने हो,’ खत्रीले भने, ‘तर आधिकारिक पत्र आएको छैन ।’

हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने नाका बन्द गर्नेबारे आफूहरूले खबर पाएको बताए । जाङ्मु प्रशासनले मितेरी पुल मर्मत गर्न नाका बन्द गर्न लागिएकाले चीनतर्फ रोकिएका कन्टेनर छिटो नेपाल भिœयाउनु भन्ने आशयको खबर पठाएको उनले बताए । ‘हामीले यसबारे व्यापारीहरूलाई जानकारी गराइसकेका छौं,’ उनले भने ।

१ वर्षदेखि खासा र न्यालम क्षेत्रमा थुप्रिएका पुराना सामान नेपाल पठाएपछि पुल मर्मत गर्ने खासा प्रशासनको योजना छ । यद्यपि, पुल मर्मतपछि तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले केही दिन बढी बन्द हुन सक्ने चिनियाँ पक्षको भनाइ छ । भूकम्पपछि चीनको तियान सुन रोड एन्ड ब्रिज कम्पनीले १ वर्ष लगाएर मितेरी पुल निर्माण गरेको थियो । २०७२ सालको भूकम्पपछि पटक पटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका १० साताअघि सुचारु भए पनि पर्याप्त सामग्री नआउँदा नेपाली व्यवसायी मारमा परेको गुनासो आउन थालेको छ । गत असार २४ गतेको जम्बुमा आएको भोटेकोशी बाढीको कारण नाका पूर्णरूपमा बन्द हुन पुगेको थियो । त्यसपछि कोरोना महामारीमा केही मेडिकल सामग्री भित्र्याएको तातोपानी नाका अन्य व्यवसायीका लागि भने असोज १८ गतेदेखि खुलेको थियो । तर सामान लोड गर्न जाने नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भएपछि भोलिपल्टै बन्द भएको नाका कात्तिक १२ गतेदेखि सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्