ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड : एकैदिन ४ हजारभन्दा बढीको मृत्यु

२०७७ पौष, २६  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २६, वासिङटन डीसी । संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन कोरोना संक्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

यहाँको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार बिहीवार मात्र कम्तीमा चार हजार १८० जनाको कोरोना संक्रमणबाट निधन भएको छ । 

त्यस दिनमात्र २ लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या पनि अमेरिकामा धेरैपछि एकैदिन देखिएको सबैभन्दा धेरै संख्या भएको यहाँको स्वास्थ्यसम्बन्धी निकाय सिडीसीले जानकारी दिएको छ ।

सिडीसीले दिएको जानकारीअनुसार अमेरिकामा कोरोना भाइरसको महामारी शुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु हो । शुक्रवारको तथ्यांकअनुसार यहाँका करीब १ लाख ३२ जना संक्रमित अवस्थामा अस्पतालमा नै रहेका बताइएको छ ।

नयाँ वर्ष शुरु भए पछिको पहिलो हप्तामा नै अमेरिकामा २३ हजार ८३ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसका कारण यहाँ पछिल्ला दिनहरुमा यो संक्रमणको त्रास थप बढेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकामा हालसम्म दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । त्यसैगरी यो संक्रमणजन्य जटिलताका कारण यहाँका ३ लाख ६९ हजार जनाको ज्यान पनि गइसकेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयको शनिवारसम्मको तथ्यांकमा उक्त संख्या देखिएको छ । 

कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ९ करोड १० लाखभन्दा बढी संक्रमित, १९ लाख ३५ हजारभन्दा बढीको मृत्यु भएको छ भने ६ करोड ४४ लाख ९२ हजार ५९७ जना कोरोना मुक्त भएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्