पुस २६, काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष एआरएम नजमुस शकिबको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्दनाथ ढुंगेल, मोहमद साहआलम सरवर, दीपक कार्की, कमरुननहर अहमदका साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानालगायतको उपस्थिति रहेको थियो ।
कम्पनी सचिव विश्वप्रकाश पौडेलले दिएको जानकारी अनुसार उक्त साधारण सभाले आव २०७६/ ०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको आव २०७६/ ०७७ को वार्षिक वित्तीय विवरणहरु पारित गरेको छ ।
साथै सभाले सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेडसहितको आव २०७६/ ०७७ को एकीकृत वार्षिक वित्तीय विवरण पारित गरेको थियो ।
सभाले आव २०७६/ ०७७ को मूनाफाबाट चूक्तापूँजीको २ दशमलव ४२ प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै ६ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने निर्णयसमेत सर्वसम्मतिबाट पारित गरेको छ ।
साधारण सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पूँजी १५ अर्ब रुपियाँ पुर्याउने र जारी तथा चुक्तापुँजीमा बोनस शेयर जारी भएअनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीको सभाकक्ष, कमलादी, काठमाडौंमा आयोजित उक्त सभा भिडियो कन्फेरिन्सङद्वारा सम्पन्न भएको हो ।