नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा वार्षिक करिब १५ करोड रुपैयाँ खर्च गरिरहेको छ । बोर्डको आम्दानीको मुख्य हिस्सा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा नै खर्च हुने गरेको देखिएको छ ।
नेपाल पर्यटन वर्ष २०११ को अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनलाई बोर्डले अहिलेको आफ्नो प्रमुख कार्यका रूपमा लिएको छ । अन्तर्राष्ट्रिय प्रवद्र्धन खर्च अझै बढ्ने बोर्डको अनुमान छ ।
सरकारले आर्थिक वर्ष २०६७/६८ को बजेट पेस गर्ने बेला भएको छ । ‘पर्यटन वर्षका लागि सरकाले छुट्याउने बजेटले अन्तर्राष्ट्रिय प्रवद्र्धनको योजना तय गर्नेछ,’ नेपाल पर्यटन वर्ष २०११ कार्यक्रम कार्यान्वयन समितिका सदस्य सचिव तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुवास निरौलाले बताए । तर अहिले गरिँदै आएको प्रवर्द्धन भने निरन्तर नै हुनेछ ।
नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि बीबीसी, सीएनएनजस्ता विश्वव्यापी पहुँच भएका टेलिभिजन च्यानल अन्तर्राष्ट्रिय पर्यटन पेजहरूमा सहभागिता तथा इन्टरनेटलाई प्रमुख रूपमा उपयोग गरिरहेको छ । अन्तर्राष्ट्रिय च्यानलहरूमा एकदमै महँगो विज्ञापन शुल्क भएकाले हाल बीबीसीमा मात्र नेपाल प्रवद्र्धन सामग्री प्रसारण गरिएको हो,’ नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार विभागका प्रमुख आदित्य बरालले भने । बरालका अनुसार बीबीसीबाट प्रसारण भइरहेको प्रवद्र्धनात्मक सामग्रीले नेपालको आकर्षण र सुन्दरतालाई प्रस्तुत गर्ने गरी बनाइएको छ ।
हाल बीबीसीमा नेपालसम्बन्धी प्रवर्द्धनात्मक सामग्री प्रत्येक दिन दुई वा तीनपटक प्रसारण हुन्छ ।
अंक ३७, २०६७, जेठ ३–९