काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरूमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा आइतवार आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरूमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह अनुरोध गरेका हुन् ।
स्थानीय तहहरूमा पुगेको रकममध्ये १ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरूमा विकासको काम तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
अर्थमन्त्री पौडेलले कोभिड १९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गरेका छन् । यसैगरी प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमूलक बनाउने वातावरण सृजना गर्न पनि आग्रह गरे ।
यसैबीच, अर्थमन्त्री पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष ब्याञ्जुसहितको बैठकमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल भएको छ ।
आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ ओटा पालिकासँग सम्झौता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री तुम्बाहाम्फेले बाँकी रहेका पालिकामा सम्झौता गर्ने र काम शुरू गर्ने पनि जानकारी गराइन् । अर्थमन्त्री पौडेलले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमि सम्बधी समस्यालाई स्थायी रूपमा समाधान गरिने बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री तुम्बाहाम्फेले काम स्थानीय तहमै हुने भएकाले स्थानीय तहको विशेष सक्रियता जरुरी रहेको बताइन् । नेपाल नगरपालिका संघका अध्यक्ष ब्याञ्जुले समयतालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने धारणा व्यक्त गरे । यस्तै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठले स्थानीय तहमै फोकल पर्सन राखेर काम गर्न जरुरी रहेको बताए ।