ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सेवाग्राहीले बैंक खाता नखोल्दा हुम्लामा भत्ता वितरणमा समस्या

२०७७ पौष, २७  
कर्णाली प्रदेश
Image Not Found

पुस २७, हुम्ला । हुम्लाका सातओटै स्थानीय तहले चालू आर्थिक वर्ष २०७७/०७८ को सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण गर्न सकेका छैनन् । 

हरेक आवको मंसिरमा पहिलो चौमासिक रकम भुक्तानी गर्नुपर्ने प्रावधान रहि आएको छ । दोस्रो चौमासिक रकम भुक्तानी गर्ने समयमा पनि भत्ता वितरण नभएपछि यहाँका नागरिकले गुनासो गर्न थालेका छन् ।

चालू आवमा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले नै सामाजिक सुरक्षा भत्ताको रकम निकासा नदिँदा वितरण हुन नसकेको बताइएको छ । ताँजाकोट गाउँपालिका–२ का वडाध्यक्ष अजमल बुढाले भत्ता वितरणमा किन ढिलाई भन्ने आफूलाई जानकारी नभएको बताए ।  

सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले आफ्नो गाउँपालिकामा ५४ लाख मात्र आएको र कोलेनिकाले नै निकासा नदिँदा वितरण गर्न नसकिएको बताए । 

कोलेनिका हुम्लाका पूर्व प्रमुख नरेशराज भट्टले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्लाभरी रकम कम पठाएको, चालू आवमा बैंक खातामार्फत सेवाग्राहीलाई रकम वितरण गर्ने परिपत्र भएको र अहिलेसम्म खाताको विवरण नआएकाले रोकिएको जानकारी दिए ।

यस्तै सिमकोट गाउँपालिकाले वडा नम्बर ५ र ६ मा रहेका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको तथ्यांक संकलन गरिरहेको जानकारी दिएको छ । पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता आगामी फागुनमा एकैपटक वितरण गरिने वडा नम्बर २ का वडाध्यक्ष नरबहादुर भण्डारीले बताए । अधिकांश सेवाग्राहीले बैंकमा खाता सञ्चालन गरेका छैनन् । 

पहिला घरघरमा पुगेर हातहातमै पाएका नागरिकले यस पटक बैंकमामार्फत वितरण गरिने भएपछि झन्झटिलो भएको उनीहरुको गुनासो छ । 

चालू आवमा बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले आ–आफ्नो भत्ता लिनका लागि अनिवार्य बैंक खाता खोल्नुपर्ने  प्रावधान राखिएको छ । हरेक गाउँपालिकाले पटकपटक खाता सञ्चालन गर्ने सूचना प्रकाशन गरे तापनि सेवाग्राहीले भने यसप्रति ध्यान दिएका छैनन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्