पुस २७, काठमाडौं । धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुले अब आफ्नो खुद मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि छुट्याउनुपर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले बजार सम्बद्ध सबै पक्षहरु केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले उक्त शिर्षकमा रकम छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।
यसरी छुट्याएको रकम विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धिका कार्यमा खर्च गर्नुपर्ने बोर्डको भनाइ छ । रकम खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप वितरण हुनुपर्ने व्यवस्थासमेत बोर्डले गरेको छ ।
हाल प्राथमिक तथा दोस्रो बजार पूर्ण प्रविधिमैत्री भई ७७ ओटै जिल्लाका लगानीकर्ताहरु समेटिएकाले प्रविधिमैत्री हुने गरी लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने भएकाले बोर्डले यो व्यवस्था लागू गरेको बताएको छ ।
यो व्यवस्थाबाट लगानीकर्ताहरु सुसूचित भई निर्णय लिन सहयोग पुग्नुका साथै बजार विकास र विस्तारमा सहयोग पुग्ने विश्वास बोर्डको छ । हाल धितोपत्र बजार सम्बद्ध पक्षहरुमध्य मर्चेण्ट बैंकरहरुले भने संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याईसकेको बोर्डले प्रष्ट पारेको छ ।