विद्युत् खरिद सम्झौता गर्न ढिलाइ भए पनि निजी क्षेत्रको न्यादी जलविद्युत् परियोजनाले सन् २०१४ सम्ममा २६ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनामा बुटवल पावर कम्पनीको मुख्य लगानी रहेको छ । सुुरुमा २० मेगावाट उत्पादन गर्ने लक्ष्य राखिएको यो परियोजनाका लागि ४ करोड ९० लाख अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक अनुमान थियो । २० मेगावाट मात्रै उत्पादन गर्न प्रतिफल दिन नसक्ने भएपछि सोही स्थानमा निर्माणाधीन न्यादी ग्रुप प्रालिको सिउदीखोला जलविद्युत् आयोजनाबाट आउने पानी प्रयोग गरी ६ मेगावाट थप उत्पादन गर्ने योजना बनाइएको हो । २६ मेगावाटको कुल ५ करोड २० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । योजनामा बुटवल पावर कम्पनी लिमिटेड र स्थानीय लमजुङ कम्पनीले संयुक्त रूपमा २० प्रतिशत लगानी गरेका छन् । ८० प्रतिशत लगानी भने बुटवल पावर कम्पनीमार्फत ऋणका रूपमा विभिन्न स्वदेशी बैकहरूले ऋण लगानी गर्नेछन् ।
परियोजना निर्माणस्थल लमजुङ सदरमुकाम बेसीसहरदेखि १२ किलोमिटर दुरीमा रहेको बाहुनडाँडा गाविसमा पर्छ । परियोजनाको बाँधदेखि ड्यामसम्म टनेलको लम्बाइ ४ किलोमिटर रहेको छ ।
हाल नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाट भन्दा कम विद्युत् उत्पादन गर्ने कम्पनीसँग हिउँदमा प्रतियुनिट ७ रुपैयाँ र वर्षामा ४ रुपैयाँका दरले विद्युत् खरिद सम्झौता गर्दै आएको छ । २५ मेगावाटभन्दा माथिको हकमा भने आपसी सहमतिका आधारमा खरिद मूल्य निर्धारण गरिन्छ । सन् २००३ यता पीपीए दरमा कुनै परिवर्तन भएको छैन ।
अंक ३७, २०६७, जेठ ३–९