नेपालभित्र मात्र विद्युत् विक्रीमा सीमित भएको नेपाल विद्युत् प्राधिकरण पहिलोपटक विद्युत् विक्रीका लागि विदेशी बजारमा प्रवेश गरेको छ । पछिल्लो केही वर्ष पावर एक्सचेन्जमार्फत भारतीय बजारमा विद्युत् निर्यात गरे पनि व्यापारिक रूपमा भारतमा बिजुली निर्यात गर्ने गरी प्राधिकरण टेन्डरमा सहभागी भएको छ । सानो पहल भए पनि यसको महत्तव निकै र दूरगामी रहेको छ ।
प्रतिस्पर्धाका आधारमा बिजुली निर्यात गर्न प्राधिकरण टेन्डरमा सहभागी हुँदा आगामी दिनमा बिजुली विक्रीका लागि अन्य टेन्डरमा सहभागी हुन, विद्युत् विक्री शुल्कमा बार्डेनिङ गर्नसमेत प्राधिकरणलाई सबल बनाउने विश्वास गर्न सकिन्छ ।
भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण सहभागी भएको छ । प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म अर्थात् ४ महीना २५ मेगावाट विद्युत् विक्री गर्न टेन्डर हालेको हो । नेपाल विद्युत् नियमन आयोगले नेपालमा खपत भएर बढी भएको बिजुली बेच्न स्वीकृति दिएसँगै प्राधिकरणले यो टेन्डरमा सहभागी भएको हो ।
टेन्डरमा सहभागी हुनु नै नेपालको विद्युत् निर्यातमा महत्त्वपूर्ण अध्याय मान्न सकिन्छ । यद्यपि यसअघि प्राधिकरणले आफूकहाँ बढी भएको बिजुली भारतलाई नबेचेका भने होइन । नेपालले गत आव २०७६/७७ मा करीब ९५ करोड रुपैयाँको बिजुली भारतलाई बेचेको थियो । अहिले भने प्रतिस्पर्धाका आधारमा बिजुली निर्यात गर्न प्राधिकरण टेन्डरमा सहभागी भएको हो । यसले आगामी दिनमा बिजुली विक्रीका लागि टेन्डरमा सहभागी हुन, विद्युत् विक्री शुल्कमा बार्गेनिङ गर्नसमेत प्राधिकरणलाई सबल बनाउने विश्वास गर्न सकिन्छ ।
नेपालमा उत्पादित वस्तुहरूमा प्रतिस्पर्धी क्षमता कम भएकाले निर्यात क्षमतासमेत कमजोर रहेको छ । त्यसमा पनि बढ्दो आयातका कारण व्यापारघाटाको आँकडा चुलिँदो छ । निर्यात र आयात व्यापारको अनुपात १ः१२ नाघिसकेको अवस्था छ । अहिले कोरोनाका कारण अर्थतन्त्र शिथिल हुँदा आयात घटे पनि व्यापारघाटाको आँकडामा खासै परिवर्तन हुने अवस्था देखिँदैन । यस्तोमा नेपालले निर्यातयोग्य वस्तुको खोजी गर्नु अनिवार्य हुन्छ । जलविद्युत्को निर्यात तुलनात्मक रूपमा बढी सम्भावनायुक्त क्षेत्र मानिएको छ । यसमा प्रतिस्पर्धात्मक र तुलनात्मक लाभ बढी भएकाले सरकारले निर्यातका लागि बजारको खोजीसमेत गरिरहेको छ ।
सरकारले १० वर्षभित्र १५ हजार बिजुली उत्पादन गर्ने रणनीति लिएको छ । त्यसअनुसार स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नेगरी विभिन्न छूट र सहुलियत प्रदान गरिएको छ । स्वदेशी निजी लगानीको थुप्रै साना आयोजनाहरू निर्माण सम्पन्नको चरणमा छन् । त्यस्तै प्राधिकरणको आप्mनै लगानीको माथिल्लो तामाकोशीलगायत ठूला आयोजनाहरू पनि निर्माणको अन्तिम चरणतिर पुगेका छन् । यी सबै आयोजना निर्माण भएपछि नेपाल विद्युत् निर्यातको चरणमा प्रवेश गर्नेछ । यस्तोमा अहिले विद्युत् विक्रीका लागि थालिएको पहल निकै उपयोगी हुनेछ ।
अहिले नेपालमा विद्युत्को माग २४९०७ मेवा प्रतिघण्टा रहेको छ । विद्युत् प्राधिकरणको आफ्नो प्रणालीबाट ६३१६ मेवा, निजीक्षेत्रबाट ६१८७ मेवा प्रतिघण्टा आपूर्ति भइरहेको छ । यसमा नपुग विद्युत् अहिले भारतबाट आयात भइरहेको छ । तर, वर्षा याम तथा रातको समयमा बिजुली खेर जाने अवस्था छ । अहिले बढी हुने बखत भारतलाई बिजुली दिने र चाहिएका बखत भारतका विभिन्न क्षेत्रबाट नेपालले किन्ने सहमति भई माग र आपूर्तिको सन्तुलन मिलाइएको छ । आफूलाई बढी हुने विद्युत् विक्री गर्न औपचारिक रूपमा नेपाल टेन्डरमा सहभागी हुँदा आगामी दिनमा बढी भएको विद्युत् विक्रीको बाटो खुल्ने देखिन्छ ।
नेपालसँग विद्युत् खरीद गर्न बंगलादेश इच्छुक भएको छ र यस सम्बन्धमा सम्झौतासमेत भएको छ । त्यस्तै भारतले पनि आफ्नो भूमि हुँदै नेपाललाई बिजुली निर्यात गर्न दिने सहमति भएको छ । त्यसै गरी निर्यातकै लक्ष्यसहित अरूण तेस्रोलगायत जलविद्युत् परियोजनाहरू निर्माणाधीन अवस्थामा छन् । नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार भएका विदेशी लगानीकर्ताहरू बजार नपाइने हो कि भनी लगानी गर्न हिचकिचाएको अवस्था पनि छ । यस्तोमा भारतमा थोरै भए पनि प्रतिस्पर्धात्मक तरीकाबाट विद्युत् निर्यात गर्न सफल भए लगानीकर्ता विश्वस्त हुने सम्भावना देखिन्छ ।