काठमाडौं, (अस) । ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा–७ कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गैराल तथा बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले संयुक्त रूपमा गरे ।
बैंकले कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित सेवा बैंकिङ सेवाका लागि गंगाराम रानालाई प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङमार्फत सेवाग्रहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानीलगायतका सेवा
लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटाउन उक्त स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको बैंकले बताएको छ ।
हाल बैंकले २ सय ६४ शाखा, २ सय ४० एटीएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर, २ सय ४४ शाखारहित बैंकिङ र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।