ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुनेहरूको संघर्ष समिति गठन

२०७७ पौष, २८  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन १२६ बिघा जमीन अधिग्रहण गर्दा पर्ने घर, घडेरी तथा जमीनवालाहरूको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहलका लागि सोमवार १५ सदस्यीय संघर्ष समिति गठन गरेको छ । विराटनगर महानगरपालिका–४ मा रहेको विमानस्थल चारैतिर विस्तार हुँदा उक्त वडाका करीब ३०० घरपरिवार विस्थापित हुनेछन् । हालै विमानस्थलले विस्तारित विमानस्थलको ‘बाउण्ड्री सर्भे’ सम्पन्न गरेको छ ।

विस्थापित हुने वडावासीलाई उचित मुआब्जा र क्षतिपूर्ति दिलाउन विराटनगर विमानस्थल पीडित संघर्ष समिति गठन गरिएको हो । संघर्ष समितिका सदस्य रेवतबहादुर खड्काले विमानस्थलको वरिपरि घर निर्माण गरेर वर्षाैंदेखि बसोवास गर्दै आएका सर्वसाधारण घरबारविहीन बन्नुअघि नै राज्यबाट उचित क्षतिपूर्ति पाउन र उनीहरू अहिले बसोवास गरेजत्तिकै स्थानमा घरजग्गा जोडेर बस्न सक्नेगरी क्षतिपूर्तिको पहलका लागि संघर्ष समिति गठन गर्नुपरेको बताए ।

विमानस्थल क्षेत्रीय र अन्तरराष्ट्रिय स्तरकै बन्नुपर्ने चाहना आपूmहरूको पनि भएको भन्दै उनले विमानस्थल विस्तारमा समितिले कुनै अवरोध नगर्ने, तर राज्यबाट पाउने क्षतिपूर्ति न्यायसंगत र व्यावहारिक हुनुपर्ने विषयमा पहल गर्ने धारणा राखे । ‘कहिलेसम्म मुआब्जा दिएर घरजमीन खाली गर्नुपर्ने हो, त्यसको मिति स्पष्ट गर्नुपर्ने, क्षतिपूर्तिका आधारहरू स्पष्ट पार्नुपर्ने, आधा घर र आधा जमीन मात्र परेकाको हकमा कस्तो क्षतिपूर्ति दिने भन्ने लगायत विषय स्पष्ट पार्न समितिल पहल गर्नेछ,’ उनले भने । अहिले बसिरहेको थातथलोभन्दा पनि सुगममा जमीन किनेर घर बनाउन सक्ने हैसियत हुनेगरी राज्यले दिने क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने माग समितिको छ ।

क्षेत्रीय र पछि अन्तरराष्ट्रियस्तरको बनाउने लक्ष्य रहेको उक्त विमानस्थलको चारैतिर १२६ दशमलव ४६ बिघा जमीन अधिग्रहणका लागि सर्भे सम्पन्न भइसकेको छ । विमानस्थल क्षेत्रीयस्तरको हुँदा मोरङको विराटनगर महानगरपालिका–४ र सुनसरीको बर्जु गाउँपालिकासम्म विस्तार हुनेछ । क्षेत्रीयस्तरको निर्माण सम्पन्न हुँदा नेपालको दुई जिल्ला छुने यो एकमात्र विमानस्थल बन्नेछ ।  

यसअघि कात्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६ दशमलव ४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । विस्तार हुँदा विमानस्थलको धावनमार्ग २ हजार ५०० मिटर लामो हुनेछ । हालको धावनमार्ग १ हजार ५०० मिटरको छ । साविक विमानस्थल विस्तारका लागि पूर्वतर्फ ७ दशमलव ८३ बिघा, पश्चिमतर्फ ६९ दशमलव १४ बिघा, उत्तरतर्फ ३५ दशमलव ८१ बिघा र दक्षिणतर्फ ८ दशमलव ८७ बिघा तथा सडकका लागि ३ दशमलव ७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने एकिन गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्