ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोस्टेट रेटमा तल्लो इसुवाखोला जलविद्युत् आयोजनाको पीपीए

२०७७ पौष, २८  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । संखुवासभामा निर्माण हुने ३७ दशमलव ७ मेगावाटको तल्लो इसुवाखोला क्यास्केड अर्धजलाशय जलविद्युत् आयोजनाको विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र आयोजनाको प्रवद्र्धक कम्पनी इसुवा इनर्जी प्रालिबीच सोमवार पीपीए भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिएका हुन् ।

सुक्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसाका दर (पोस्टेट रेट)मा विद्युत् खरीदविक्री गर्नेगरी प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच सम्झौता भएको हो । यससम्बन्धी सम्झौतापत्रमा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कम्पनीका अध्यक्ष विक्रम विष्टले हस्ताक्षर गरेका छन् ।

उक्त आयोजना अर्धजलाशय (पीआरओआर) भए पनि नदी प्रवाह (आरओआर) आयोजना सरह नै पीपीए गरिएको प्राधिकरणले बताएको छ । यो ९७ दशमलव २ मेगावाटको इसुवाखोला जलविद्युत्को क्यास्केड आयोजना हो । त्यसकारण यसमा आरओआर आयोजना सरह नै पीपीए गरिएको प्राधिकरणको भनाइ छ । तर, उत्पादनको ८ वर्षसम्म पीपीए दर वार्षिक ३ प्रतिशतका दरले बढ्नेगरी पीपीए भएको प्रवक्ता तिम्सिनाले बताए ।

संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने यो आयोजनाको लागत प्रतिमेगावाट १३ करोड रुपैयाँ पर्ने बताइएको छ । त्यसअनुसार आयोजनाको कुल लागत करीब ५ अर्ब रुपैयाँ हुने देखिएको छ ।

पीपीएसँगै आयोजनाका लागि लगानी जुटाउने विषयमा पनि प्रवद्र्धक कम्पनीले काम गर्दै आएको छ । लगानी जुटाउने सम्बन्धमा हाल नेपालका बैंकहरूसँग छलफल भइरहेको कम्पनीले बताएको छ । पीपीएअनुसार कम्पनीले २०८० चैत ३० गतेभित्र विद्युत् उत्पादन गर्नुपर्ने छ । अब आयोजनाको वित्तीय व्यवस्थापनसँगै उत्पादनको अनुमतिपत्र लिएर तत्काल निर्माण शुरू गर्ने प्रवद्र्धक कम्पनीको तयारी छ । तोकिएको अवधिमै विद्युत् उत्पादन हुने कम्पनीको भनाइ छ ।

आयोजनाको विद्युत् प्राधिकरणको संखुवासभास्थित शीतलपाटी सबस्टेशनमा जोडिनेछ । आयोजनाको विद्युत्गृहबाट १५ किलोमिटर टाढा उक्त सबस्टेशन बनाउनुपर्नेछ ।

विद्युत्गृहबाट सबस्टेशनसम्मको प्रसारण लाइन पनि कम्पनीले नै बनाउने सहमति भएको छ । आयोजनाबाट वार्षिक ६१ लाख युनिट विद्युत् उत्पादन हुने बताइएको छ ।

सरकारले तोकेको कोटा प्रणालीअनुसार अहिले आरओआर आयोजनाको पीपीए रोकिएको छ । यसबाहेक अन्य प्रकृतिको आयोजनाको पीपीए भने भइरहेको प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्