पुस २८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार सिद्धार्थ बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले १२ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४२१ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात सोमवार कायम अन्तिम शेयरमूल्य रू. ४७२ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीले १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश पारित गर्न माघ १६ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको छ ।