ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोखरा अन्तरराष्ट्रिय म्याराथनको १५औं संस्करण फागुन १ गते

२०७७ पौष, २८  
खेल विविध
Image Not Found

पुस २८, कास्की । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तरराष्ट्रिय म्याराथन’ को १५औं संस्करण आगामी फागुन १ गते हुने भएको छ । 

म्याराथनको विजेताले रू. दुई लाख तथा द्वितीयले रू. एक लाख, तृतीयले रू. ७५ हजार र सान्त्वनाले रू. २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमवार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । 

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवर्द्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ । 

यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रू. एक लाख, ७५ हजार,  ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाली खेलकूदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य मुलुकका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए । 

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक फरक मितिमा आयोजना गरिने भएको छ । जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ ।

यसैगरी १० किमी महिला/पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र/छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । दश किमी महिला/पुरुष दौडमा विजेता रू. १५ हजार तथा द्वितीय र तृतीयले रू. १० हजार र रू. पाँच हजार पुरस्कार प्रदान गरिने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिए ।

ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रू. सात हजार, द्वितीयले रू. पाँच हजार र तृतीयले रू. तीन हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्र/छात्रा दौडमा प्रथमले रू. १० हजार द्वितीयले रू. सात हजार र तृतीय हुनेले रू. चार हजार पुरस्कार प्राप्त गर्नेछन् ।

म्याराथनका लागि रू. ५० लाख ६० हजार खर्च लाग्ने प्रारम्भिक अनुमान रहेकामा प्रदेश सरकार, पोखरा महानगरपालिकालगायत सरकारी तथा निजी संघ संस्थाबाट सहयोग संकलन गरिने आयोजकले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्