ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुर्खेतको गुर्भाकोटमा सशस्त्रको शिक्षालय निर्माण हुने

२०७७ पौष, २९  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । सुर्खेतको गुर्भाकोटमा सशस्त्र प्रहरीको शिक्षालय निर्माण हुने भएको छ । शिक्षालय निर्माणका लागि अहिले प्रारम्भिक पूर्वाधार निर्माणका कार्यहरू तीव्र पारिएका छन् । शिक्षालय खोल्न पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले वडां नं १० लौरेदमारमा सामुदायिक वनको २४ बिघा जग्गा उपलब्ध गराएको छ ।

देश संघीय संरचनामा गएसँगै सशस्त्र प्रहरीले कर्णाली प्रदेशमा पनि आप्mनो संगठन विस्तार गर्न लागेको हो । देशका अन्य प्रदेशमा सशस्त्र प्रहरीको शिक्षालय रहे पनि कर्णालीमा हालसम्म बन्न सकेको छैन । गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले सशस्त्र प्रहरीको शिक्षालय निर्माणका लागि २४ बिघा जग्गा निःशुल्क उपलब्ध गराइएको बताए । यससँगै साढे १८ लाख रुपैयाँ लागतमा ब्यारेक भवन निर्माण शुरू जानकारी उनले दिए ।

‘सशस्त्रले गुर्भाकोटमा शिक्षालय निर्माण गरेपछि यहाँबाट उत्पादित सुरक्षाका दक्ष जनशक्ति देशैभर पुग्ने हुँदा हाम्रा लागि त्यो गौरवको कुरा हुनेछ,’ उनले भने । सशस्त्रको शिक्षालय निर्माणका लागि नगरपालिकाले थप सक्दो सहयोग गर्ने उनले बताए ।

लौरेदमारमा गत असोज २५ गतेदेखि सशस्त्र प्रहरी निरीक्षक कमल थानीको नेतृत्वमा २५ सदस्यीय अस्थायी बेस क्याम्प निर्माण गरिएको छ । सशस्त्रको शिक्षालय निर्माणका लागि गुर्भाकोटको भेरी सामुदायिक वन उपभोक्ता समितिले जग्गा उपलब्ध गराएको हो ।

गुर्भाकोटका स्थानीय बासिन्दा एवं नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष अन्नत पौडेलले गुर्भाकोटमा सशस्त्रको शिक्षालय निर्माण हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएको बताए । शिक्षालय निर्माणका लागि संघीय सरकारले समेत छिटो कानूनी प्रक्रिया टुंग्याउनुपर्नेमा उनले जोड दिए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापा, महेश्वरी वाहिनीका निमित्त वाहिनीपति अवि खत्री, रक्तकाली गणका गणपति विग विजय सुवेदी, गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्री, स्थानीय जनप्रतिनिधिसँगै राजनीति दलका प्रतिनिधिको एक टोलीले गुर्भाकोटको लौरेदमारमा सशस्त्रको निर्माणाधीन शिक्षालयको प्रारम्भिक पूर्वाधारको अनुगमन गरेको छ । अनुगमनका क्रममा एआईजी थापाले स्थानीय नागरिकको चाहना र भावनालाई ध्यानमा राख्दै लौरेदमारमा शिक्षालय निर्माणका लागि आवश्यक प्रक्रिया छिटो शुरू गराउन पहल गरिने बताए । देशको समृद्धिका लागि शान्ति सुरक्षाको क्षेत्रमा संगठन विस्तारसँगै सशस्त्र प्रहरीले आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्