ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कम्पनीको आवरण हटाउने सिद्धान्त

नकारात्मक र सकारात्मक पाटो

२०७७ पौष, २९  
लेख | दृष्टिकोण
Image Not Found

कम्पनी निकाय भए पनि जैविक व्यक्तिसरह हुन्छ भन्ने कुरा सर्वव्यापी मान्यता छ । एउटा व्यक्तिले गर्नसक्ने सम्पूर्ण कार्य कम्पनी आफैले गर्छ । कम्पनीलाई व्यक्तिसरहको अस्तित्व दिनुको अर्थ ‘व्यावसायिक सुगमताका’ लागि भन्ने मान्यतालाई अदालतले समेत स्थापित गरेको छ । तर, कम्पनीलाई स्वतन्त्र अस्तित्व एवम् कम्पनी र शेयरधनी अलग अलग हुन् भन्ने मान्यता निरपेक्ष नभएको हुँदा यसका केही अपवाद छन् । कम्पनीको आवरणमा व्यक्ति (शेयरधनी) ले गैरकानूनी गतिविधि गरेको हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । कम्पनी परिकल्पना मात्र गरिएको व्यक्ति हुँदा आफैले कार्य गर्न सक्दैन । कम्पनी शरीरधारी, मन, मस्तिष्क, ज्ञानेन्द्रिय र कर्मेन्द्रिय भएको जैविक मानव होइन । यसको नामबाट गरिने कारोबार जैविक व्यक्तिले नै गर्ने हुँदा कम्पनीले गरेका कामकारबाहीको अन्तिम जिम्मेवार कम्पनी सञ्चालन गर्ने व्यक्ति नै हुनुपर्छ । कम्पनीको नाममा भएको कार्यको परीक्षण गर्न कम्पनीको आवरण हटाएर हेरिन्छ ।

कम्पनीको आवरणमा धोकाधडी, कर छली, अवैधानिक गतिविधिमा संलग्न भएको अवस्थामा कम्पनीको आवरण हटाउने सिद्धान्तमार्पmत वास्तविकता पत्ता लगाइन्छ ।

व्यक्ति तर अनागरिक
कम्पनी कानूनी व्यक्ति भएकाले यसको नागरिकता, राष्ट्रियता र निवास हुन्छ (स्टेट ट्रेडिङ कर्पोरेशन अफ इन्डिया लिमिटेड विरुद्ध कमर्शियल ट्याक्स अफिसर, १९६३) । यसको दर्ता प्रमाणपत्र नै यसको नागरिकता हो । जुन देशको कानूनअनुसार स्थापित हुन्छ, त्यही देश राष्ट्रियता हो । स्थापना भएको देश निवास र रजिस्टर्ड कार्यालय निवासको ठेगाना हो । व्यवसायको नियन्त्रण र प्रबन्धन जहाँबाट हुन्छ त्यही स्थान कम्पनीको निवास हो (स्वेडिश सेन्ट्रल रेल कम्पनी लिमिटेड विरुद्ध थोमसन, १९२५) । कम्पनीलाई व्यक्तिसरह मानिएको हुँदा यसको चरित्र पनि हुन्छ । विदेशी कम्पनी वा विदेशी शेयरधनीलाई शत्रु देशको नागरिकसरह व्यवहार गरिन्छ । देशभित्र पनि कम्पनीको पृथक् अस्तित्वलाई सदैव स्वीकार गरिँदैन । कम्पनीको आवरणमा धोकाधडी, कर छली, अवैधानिक गतिविधिमा संलग्न भएको अवस्थामा कम्पनीको आवरण हटाउने सिद्धान्तमार्फत वास्तविकता पत्ता लगाइन्छ । यसको मध्यमबाट कम्पनी र शेयरधनीलाई अलग गरेर संस्थागत मुखुन्डो (कर्पोरेट भेल) हटाएर कारबाही गरिन्छ । कम्पनीको मुखुन्डो उतार्ने सिद्धान्त मूलतः न्यायिक निर्णयमार्फत उपयोगमा ल्याइन्छ ।

करछली र धोकाधडी
कम्पनीको आवरण हटाएर कम्पनीको स्वतन्त्र अस्तित्व अस्वीकार गरिएका थुप्रै मुद्दा कम्पनी कानूनको आधारस्तम्भ बनेका छन् । कर छलीका लागि कम्पनी खडा गरेका डिनश मानेकजी पेटिट (१९२७) को मुद्दा निकै चर्चित छ र डिनशले चारओटा कम्पनी खडा गरेका थिए । कर प्रशासनले करसम्बन्धी छानविन गर्दा नाफा रकम ऋणको रूपमा आफैले लिएको भेटेपछि कर छली गरिएको भेटिएको थियो । कर छल्ने प्रयोजनका लागि मात्र डिनशले कम्पनी खडा गरेकाले यहाँ कम्पनीको स्वतन्त्र अस्तित्व स्वीकार गरिएन ।

कपट वा धोखाधडी (गिलफोर्ड मोटर कम्पनी विरुद्ध होर्ने, १९१३) अर्को कोसेढुंगा बनेको मुद्दा हो । होर्नेलाई गिलफोर्ड मोटर कम्पनीले प्रबन्ध निर्देशकको सेवा करार गर्दा कम्पनीका ग्राहकलाई आफूतर्फ खिच्ने किसिमले व्यवहार गर्नेछैन भनेर शर्त राखेको थियो । होर्नेले छुट्टै कम्पनी खडा गरेर गिलफोर्डका ग्राहक खोसे । गिलफोर्डले होर्ने विरुद्ध मुद्दा गर्‍यो । कम्पनी अलग व्यक्ति हो भनेर होर्ने पन्छिन खोजे पनि अदालतले होर्नेको दाबीलाई अस्वीकार गर्दै कम्पनीको आवरणमा गरिएको धोकाधडी र कपट ठहर गर्‍यो । धोखाधडीको अर्को एक मुद्दा जोहनविरुद्ध लिपम्यान (१९६२) मा लिपम्यान नामक एक व्यक्तिले जोहन नामक अर्को व्यक्तिलाई आप्mनो जमीन बेच्ने सम्झौता गर्छ ।

सम्झौताअनुसार लिपम्यानले जमीन जोहनलाई नबेची एउटा कम्पनीलाई बेचिदिन्छ । जोहन सम्झौताअनुसार जमीन पाउनुपर्ने माग गर्दै मुद्दा गर्छ । अदालतले जग्गा बेचिएको कम्पनीको मुखुन्डो उतारेर हेर्छ । उक्त कम्पनीमा लिपम्यान र अर्को एक व्यक्ति शेयरधनी देखिन्छ । यसमा पनि कम्पनीको स्वतन्त्र अस्तित्व स्वीकार गरिएन र लिपम्यानको कम्पनीबाटै जोहनलाई जग्गा दिन आदेश दिएको थियो ।

दुश्मन चरित्र र क्षमता निर्धारण
कम्पनीको दुश्मन चरित्र पनि हुन्छ भन्ने सुन्दा आश्चर्य लाग्नसक्छ । यथार्थमा यस्तो पनि हुन्छ भन्ने तथ्य डेमलर कम्पनी लिमिटेड विरुद्ध कन्टिनेन्टल टायर एन्ड रबर कम्पनीको मुद्दा (१९१६) मा व्याख्या गरिएको छ । यस मुद्दामा जर्मन नागरिक इङल्यान्डमा गएर डेमलर लिमिटेड नामक एक कम्पनी स्थापना गर्छन् । कम्पनीमा बहुमत शेयरधनी जर्मन नागरिक हुन्छन् । डेमलरले इङल्यान्डको कन्टिनेन्टल कम्पनीसँग कारोबार गर्छ । कारोबार गरेपछि लेनदेन हुनु स्वाभाविक थियो । कन्टिनेन्टलले डेमलरलाई तिर्नुपर्ने रकम तिरेन । पैसा नतिर्नुका कारण त्यतिबेला चलिरहेको प्रथम विश्वयुद्धमा जर्मन र इङल्यान्ड एकअर्का विरुद्ध लड्नु थियो । कन्टिनेन्टलले डेमलरलाई तिरेको रकम जर्मन जाने र आफ्नो देश (इङल्यान्ड) विरुद्ध उपयोग हुनसक्थ्यो । डेमलरले दुवै कम्पनी इङल्यान्डको कानूनअनुसार स्थापित भएको र छुट्टै व्यक्तित्व हुने दाबी लिएर अदालत गयो । हाउस अफ लर्डले डेमलरको दाबीलाई खारेज गर्दै विदेशी स्वामित्वको कम्पनीको चरित्र पनि विदेशी नै हुन्छ भन्ने आदेश दियो ।

कहिलेकाहीँ कम्पनीको आवरण हटाउने सिद्धान्त कम्पनीको क्षमता निर्धारक पनि बन्छ । न्यू होराइजन्स लिमिटेडविरुद्ध युनियन अफ इन्डिया (१९९५) को मुद्दामा बढी मूल्य कबोल गरेको र कार्य अनुभव नभएको भनेर टेन्डर प्रस्ताव अस्वीकृत गरिएपछि कम्पनीले सो निर्णयविरुद्ध मुद्दा गरेको थियो । वादी (न्यू होराइजन्स) बहुराष्ट्रिय कम्पनी भएको र टेन्डरमा उल्लेख गरिएको कार्य गर्न सक्षम भएको सिंगापुरको कम्पनी पनि वादी कम्पनीमा शेयरधनी रहेको देखिएको थियो । यस आधारमा उक्त कम्पनीले आफ्नो सक्षमताको पुष्टि गर्ने आधार पाएको थियो । त्यस्तै, सूत्रधार (होल्डिङ) र सहायक कम्पनी सिद्धान्ततः दुवैको अलग अलग अस्तित्व हुन्छ । तर, सहायक कम्पनीमाथि सूत्रधार कम्पनीको नियन्त्रित स्वार्थ हुने हुँदा कारोबारको सम्बन्धमा आवरण हटाएर हेर्नुपर्ने हुन्छ ।

नेपालको अभ्यास
नेपालमा सर्वोच्च अदालतले युनिटी लाइफ इन्टरनेशनल लिमिटेड विरुद्ध (नेपाल कानून पत्रिका २०६८, निर्णय नं. ८८१४) को मुद्दामा कम्पनीको आवरण हटाउने विषयमा विस्तृत व्याख्या गरेको छ । युनिटीले गैरकानूनी रूपमा सञ्चालन गरेका व्यापारबाट सृजित दायित्व (फौजदारी र देवानी) को जिम्मेवार कम्पनी सञ्चालक हुने ठहर गरेको थियो । युनिटीले कम्पनीको आवरणमा गरेको गैरकानूनी कार्यलाई कम्पनीको आवरण हटाई व्यक्तिगतरूपमा जिम्मेवार बनाइएको छ । अदालतले आदेशमा ‘...केही खास अवस्थामा कम्पनीको स्वतन्त्र मान्यता वा आवरणलाई मान्यता नदिई कम्पनीका लागि भए गरिएको भनिएको कारोबारमा प्रत्यक्षरूपमा संलग्न व्यक्तिहरू को थिए भन्ने कुरा हेरिन्छ । यही अवस्थालाई कम्पनीको आवरण हटाएको मानिन्छ भनिएको छ । त्यस्तै, के कस्ता अवस्थामा आवरण हटाउने कार्य गरिन्छ भन्ने सन्दर्भमा ‘...मूलरूपमा (क) कुनै अनुचित, गैरकानूनी कार्य वा जालसाजी वा धोकेबाजीपूर्ण कामकारबाहीका लागि कम्पनीको आवरण प्रयोग भएको देखिएमा, (ख) कम्पनीको फाइदाका लागि नभई कुनै व्यक्ति वा अन्य निकायको हितका लागि मात्र कम्पनीको आवरण प्रयोग भएको अवस्थामा, (ग) राजस्व चुहावट वा कर छल्ने कार्यका लागि कम्पनीको आवरण प्रयोग भएमा र (घ) कुनै कम्पनीको आवासीय स्थिति पत्ता लगाउनका लागि गैरकानूनी वा अनियमित काममा संलग्न देखिएका कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी वा कम्पनीको तर्फबाट काम गर्ने भनिएका अन्य व्यक्तिहरूलाई व्यक्तिगत रूपमा जिम्मेवार बनाइन्छ’ आदेशमा भनिएको छ ।

लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्