ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनापछिका असमानता

२०७७ पौष, २९  
लेख | दृष्टिकोण
Image Not Found

विश्वव्यापी महामारीका रूपमा रहेको कोरोनाको शुरुआत भएको पूरै १ वर्ष व्यतीत भएको छ । यस बीचमा आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक सबै क्षेत्रमा नकारात्मक असर देखियो । शिक्षा मानव विकासको मात्र नभई देशको समग्र विकासको अत्यावश्यक र महत्त्वपूर्ण आधार पनि हो । यसै कारणले गर्दा नै विश्वका सबै देशले शिक्षाको विकासमा ज्यादा ध्यान दिने गरेको देखिन्छ ।

कोरोनाका कारण भौतिक रूपमा कक्षा सञ्चालन गर्न नसक्दा प्रविधिको माध्यमबाट भौतिक उपस्थितिविना नै पठनपाठनको क्रियाकलाप गर्न थालियो । प्रविधिको उपयोग गरेर शैक्षिक सत्र खेर जान दिइएन । । तर, यसले धनी र विपन्नले प्राप्त गर्ने शिक्षामा ठूलो अन्तर खडा गरिदियो । यसले धनाढ्य वर्ग र विपन्न वर्गका बीचको असमानता झनै बढाउने देखन्छि । परीक्षामा एउटै प्रश्नपत्रको उत्तर लेख्ने हो तर पठनपाठन भने बिलकुलै भिन्न हुने जुन परिपाटीको विकास भएर आयो यसैले विभेदको सृजना गरेको हो ।

कोरोनाका कारण यस अवधिमा शिक्षा क्षेत्रमा जेजति घाटा भयो । त्यसले समाजमा विद्यमान असमानतालाई नै थप बल पुर्‍याउने देखिन्छ ।

युनेस्कोको पछिल्लो प्रतिवेदनसहितको तथ्यांक सार्वजनिक भएको छ । उक्त तथ्यांकअनुसार विश्वका १७१ देशका १.६ अर्ब बालबालिकाका शैक्षिक संस्थाहरू अस्थायी रूपमा बन्द भएपछि पठनपाठनमा गम्भीर असर परेको छ । १ वर्षको समय खेर जानु भनेको १० वर्षसम्म त्यसको असर यसमा पर्नु हो । शैक्षिक वर्ष गुम्न नदिन शिक्षा मन्त्रालयले असारसम्म तन्काउने भएको छ । यो आफैमा सकारात्मक निर्णय हो, जसले शिक्षामा हुन आटेको शैक्षिक वर्ष हराउने खतरा टरेर गएको छ । एसईई परीक्षा जेठमा गरिने भएको छ । कोरोनाको त्रास कायम नै रहेको बखतमा सुरक्षाको मापदण्ड अपनाई अध्ययन अध्यापनका कार्य अगाडि बढाउनु उचित कदम हो । नेपालमा हाल विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययनरत ९० लाख विद्यार्थीहरू शैक्षिक क्रियाकलापबाट वञ्चित हुनुपरेको अवस्था छ ।   

बालबालिका घरमा नै बस्नुपर्दा सिकाइमा त नै असर परिहाल्यो, उनीहरूको मानसिक र शारीरिक रूपमा समेत नकारात्मक असर पर्न गयो । अभिभावकसमेत थप तनावमा परे । सिकाइमा अवरोध एकातर्फ छ भने अर्कातर्फ चौबीसै घण्टा घरमा नै अभिभावकसँग दिन बिताउँदा अभिभावक र बालबालिका दुवैलाई थप समस्या सृजना भए । कक्षा ११ र १२ को परीक्षा पनि ८ महीनापछि मात्र गरियो । यसमा पनि आन्तरिक मूल्याकनलाई नै आधार मानियो । विषम परिस्थितिमा वैकल्पिक उपायहरूबाट शैक्षिक सत्र खेर जान नदिनका लागि हरसम्भव प्रयास भएको देखिन्छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको सिकाइलाई निरन्तरता दिन असारदेखि भदौसम्म वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गर्दै विद्यार्थीलाई शैक्षिक गतिविधिसँग जोडने प्रयास गरेको छ । विद्यार्थी अभिभावक र शिक्षक सबैलाई सो कार्य नवीन भएकाले शुरूका दिनमा असहज भएकै हो । परम्परागत रूपले शिक्षकको उपस्थितिमा हुने गरेका शैक्षिक कार्य आज एकाएक प्रविधिमैत्री बनाउने काम स्वाभाविक रूपले कठिन हुने नै भयो ।

 सरकारी वा सार्वजनिक विद्यालयमा पढ्ने ९० प्रतिशतभन्दा बढी विद्यार्थीका अभिभावक गरीबीका रेखामुनि रहेका कारण आर्थिक अभावमा पिल्सिएका छन् । त्यस कारण उनीहरूले इन्टरनेटको व्यवस्थापन गर्न निकै कठिन भयो । एउटा सामान्य मोबाइलको प्रयोगमा समेत निषेध गर्दै आएका अभिभावकले कसरी आवश्यक उपकरणको जोहो गर्न सक्थे र ? यो जटिल अवस्थाको सृजना कोरोना र प्रविधिले ल्याएकोमा कसैको विमति रहेन । अझै पनि पाइएका वा विभिन्न निकायबाट उपलब्ध गराइएका कम्प्युटर ल्यापटप स्मार्ट बोर्डजस्ता उपकरण व्यवस्थापनको अभावमा यसै रहेका छन् । दक्षजनशक्तिको अभावमा विद्यालयमा भएका सामग्रीको समेत उपगोग गर्न नसकिएको तीतो सत्य छँदै छ ।  

अनलाइन शिक्षा शहरी र प्रविधिको सहज पहुँच पुगेका बाहेक सबै विद्यालयको हालत उस्तै रहेको देखिन्छ । पहिलेदेखि नै अलिक प्रविधिको प्रयोग गर्दै आएकालाई मात्र सहज भएको हो नत्र भने अवस्था एकै खालका छन् । सहज प्रविधिको पहुँच भएका ५ देखि ७ प्रतिशत विद्यालयले भने निर्देशित कोर्ष पूरा गरेको अवस्था छ । यता ग्रामीण भेगका र शहरी इलाकाकै विद्यालयमा निर्देशित कोर्षको बल्ल थालनी मात्र भएको देखिन्छ । उपत्यका बाहिरका मुख्य शहरबाहेकका विद्यालयमा ३–४ महीना अगाडिबाटै भौतिक उपस्थितिमा पठनपाठन हुँदै आएका छन् । कोरोनाको महामारीको अवस्थामा ग्रामीण भेगका विद्यालय एक प्रकारको आइसोलेशन नै हो । स्वच्छ वातावरण खुला र भीडभाड कम मात्र हुने भएकाले विद्यार्थीको उपस्थितिमा नै कक्षा चलाउन सहज भएको देखिन्छ ।

शैक्षिक क्यालेन्डर बिथोलिँदा सबैलाई असर पर्ने भएकाले सरकारले समय व्यवस्थापन गर्न ३ महीना तन्काएर शैक्षिक सत्र पूरा गर्ने भएको छ । त्यसैगरी मास्क लगाउने दूरी कायम गर्ने साबुन पानीले बारम्बार हात धुने जथाभावी नजाने साथीको खाजा नखाने जस्ता सकारात्मक प्रभाव आम विद्यार्थीमा देखिएको छ । आज सभ्य विकसित र आधुनिक शिक्षामा अगाडि बढेका देशमा समेत कोरोनाका कारणले शिक्षामा असहजता देखिएको छ भने प्रविधिमा अभ्यस्त हुने मार्गमा बल्ल जाँदै गरेको नेपालमा असर पर्नु स्वाभाविक हो ।

त्रिविले पनि अनलाइनबाटै अध्यापन र परीक्षासमेत सञ्चालन गरेको छ । कक्षा ११ र १२ को सफलताबाटै त्रिविले स्नातक चौथो वर्षको परीक्षा सञ्चालन गरेको छ । काठमाडौं महानगरले पनि माघको पहिलो सातादेखि सबै स्वास्थ्यका मापदण्ड अपनाएर पठनपाठन सुचारु गर्न सकिने निर्णय गरेको छ । आर्थिक रूपमा पनि शिक्षाले अर्थतन्त्रलाई चलायमान बनाउने कार्यमा अहम भूमिका निर्वाह गरेको हुनाले विद्यालय खोल्नुको विकल्प देखिँदैन ।

तर, यस अवधिमा शिक्षाक्षेत्रमा जेजजति घाटा भयो, त्यसले समाजमा विद्यमान असमानतालाई नै थप बल पुर्‍याउने देखिन्छ । निजी विद्यालयमा पढाउने शिक्षकहरूको रोजीरोटी गुमेको छ । अन्य क्षेत्रमा पनि हिसाब गर्दा लाखौंले रोजगारी गुमाएका छन् । यसले आर्थिक असमानतालाई मलजल गरेको छ । यसरी कोरोनाले शैक्षिक, आर्थिक र सामाजिक असमानता बढाएको छ ।

लेखक विश्वशान्ति कलेजको समाजशास्त्रका अध्यापक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्