ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फोहोर पानी प्रशोधन केन्द्रको निर्माण अघि बढ्दै

२०७७ पौष, २९  
वाग्मती प्रदेश
Image Not Found

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर पानी व्यवस्थापनका लागि चार ठाउँमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । तीमध्ये एउटा सञ्चालनमा आइसकेको र तीनओटा निर्माणको चरणमा रहेको आयोजना कार्यान्वयन निर्देशनालयले बताएको छ ।     

निर्देशनालयका अनुसार गुह्येश्वरीमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । यस्तै बालकुमारी (कोड्कु), सल्लाघारी र धोबीखोलामा प्रशोधन केन्द्र निर्माणाधीन छ । तीन चरणमा निर्माण अघि बढाइएकामा पहिलो चरण अन्तर्गत गुह्येश्वरीमा गत कात्तिकमा सम्पन्न भएको थियो भने बाँकी दुई चरणको काम भइरहेको सूचना अधिकारी जगत प्रजापतिले बताए । उनका अनुसार दोस्रो चरण अन्तर्गत सल्लाघारी र बालकुमारीमा काम अघि बढाइएको छ । धोबीघाटमा दुई ट्यांकी निर्माण हुनेमा फरक फरक प्याकेजमा काम भइरहेको उनले जानकारी दिए ।

गत आवमा कोभिड–१९ महामारीका कारण निर्माणमा प्रभाव परेको थियो भने अझै पनि काम गर्ने वातावरण सहज नभएको निर्देशनालयले बताएको छ । निर्माणाधीन यी फोहोरपानी प्रशोधन केन्द्रमा संलग्न अन्तरराष्ट्रिय निर्माण कम्पनीका जनशक्तिले कोभिडका कारण नियमित रूपमा काम नगरेको सूचना अधिकारी प्रजापतिले बताए । उनका अनुसार कोभिडको खोप लगाउन स्वदेश गएका चिनियाँहरू अझै फर्किएर आएका छैनन् । सल्लाघारी, बालकुमारी र धोबीघाट गरी तीनै स्थानमा निर्माणका लागि आवश्यक उपकरण ल्याउन नसकिएको उनको भनाइ छ ।

धोबीघाटस्थित केन्द्र निर्माणमा केही वर्षपहिले स्थानीयवासीको विरोध भएकामा निर्देशनालयले ललितपुर महानगरपालिकासँगको समन्वयमा त्यसको समाधान गरेर निर्माण अघि बढाएको छ । दोस्रो र तेस्रो चरणको भौतिक प्रगति अहिलेसम्म २८ प्रतिशत छ । दोस्रो चरणमा ट्यांकी निर्माणको काम भइरहेको छ ।

उपत्यकामा मेलम्ची खानेपानी आयोजना आएपछि फोहोर पानीको मात्रा बढ्ने भन्दै सरकारले प्रशोधन केन्द्र चाँडो सम्पन्न गर्ने लक्ष्य लिएको छ । गुह्येश्वरीस्थित केन्द्र सञ्चालनमा आए पनि यहाँको सौन्दर्यीकरण, पार्क निर्माण लगायत काम भइरहेको छ । २ वर्षअघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण तोकिएको अवधिभन्दा एक वर्षपछि सम्पन्न भएको थियो । सरकारले काठमाडौं उपत्यकाका नदीहरूमा फोहोरपानीको ढल सीधै मिसिन नदिन प्रशोधन केन्द्र निर्माण गरिरहेको हो । प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत्समेत निकाल्ने योजना बनाइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्