ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पठनीय संस्मरण : यात्रा विदेशको चिन्ता स्वदेशको

२०७७ पौष, २९  
विविध
NA

यात्रा संस्मरण साहित्यमा स्व. पुष्करलालद्वारा लिखित यात्रा विदेशको चिन्ता स्वदेशको पुस्तक थपिएको छ । यसमा सम्पादक, पत्रकार तथा खेलाडीको समेत परिचय बनाएका श्रेष्ठले विभिन्न समयमा गरेका भ्रमणका अनुभव समेटिएका छन् ।

२८ ओटा संस्मरणात्मक लेख समेटिएको निबन्धमा २७ ओटा देशको भ्रमणका क्रममा त्यहाँ पुग्दा लेखेकले देखेका दृश्य, भोगेका अनुभव र भेटेका मानिसका माध्यमबाट त्यहाँका प्रगति, व्यवस्थापन र सुन्दरताको चित्रण मात्र गरेका छैनन्, उस्तै अवस्था रहेको आफ्नो देशले प्रगतिमा फड्को मार्न नसक्दा, व्यवस्थापनमा चुक्दा र राजनीतिक विकृतिमा विकासका सम्भावना दबिँदै जाँदा आउने आक्रोश र छटपटीलाई पनि कुनै न कुनै रूपमा प्रस्तुत गरेका छन् ।

मानवीय स्वभाव नै हो, जहाँ गए पनि आफू टेकेको धरातल र समाज बोकेर जाने । पुष्करलाल पनि यूरोपका कला, संस्कृति र आर्थिक विकासको उच्चतम चुलीमा पुगेका मुलुकमा पुग्दा मनभरि देश बोकेर पुगेका छन् र प्रत्येक कुरामा आफ्नो देश दाँज्न थालेको संस्मरण पढ्दा अनुभव हुन्छ । पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ र अनुभूति यसमा समेटिएका छन् ।

श्रेष्ठले आफूले घुमेका ठाउँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा चिन्ता प्रकट गरेका छन् । नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पुस्तकमा समेटिएको छ ।

श्रेष्ठले आफू पुगेको ठाउँको विशेषता रोचक शैलीमा पस्केका छन् । विभिन्न समय सन्दर्भमा यी संस्मरणहरू पठनीय त छन् नै, तिनले ती देशका केही विशेष पहिचानको जानकारी पनि राम्रोसँग दिन सकेको पाइन्छ । लेखकको अनुभूति र जानकारी पाठकलाई छुने खालका छन् ।

प्रा. पी खरेल, डा. सुन्दरमणि दीक्षित लगायको मन्तव्यसहितको पुस्तकमा लेखकले भ्रमण गरेका स्थानको चित्र राखेर पुस्तकलाई थप प्रभावकारी बनाइएको छ । उनले स्थापना गरेको कामना न्यूज पब्लिकेसन्स प्रालिको ३७औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको ३४१ पृष्ठको यो पुस्तकमा  श्रेष्ठका पुत्र तथा कामना न्यूज पब्किेसन्सका प्रकाशन दिरेकलाल श्रेष्ठले पुस्तक प्रकाशनका विविध पक्षमा प्रकाश पारेका छन् । रू. ७०० मूल्य राखिएको यस यात्रा वृत्तान्तले आम पाठकको मन जित्ने विश्वास प्रकाशन संस्थाले लिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्