ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘पूँजी अभावका कारण घोडीघोडा लघुवित्त मर्जरमा जान बाध्य’ 

२०७७ पौष, २९  
लगानी
Image Not Found
author avatar वीरेन्द्र भट्ट

पुस २९, धनगढी । कञ्चनपुरको ग्रामीण वस्ती बेलौरीमा कर्पोरेट कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड पूँजी अभावका कारण मर्जरमा जाने प्रक्रिया अघि बढाएको छ । 

लघुवित्त कार्यक्रम मार्फत ग्रामीण समुदायका विपन्न तथा गरीब वर्गको जीवनस्तर माथि उठाउने मुख्य उद्देश्यसहित स्थापना भएको उक्त कम्पनीलाई नेपाल राष्ट्र बैंकले अर्को संस्था प्राप्ति वा मर्जरमा जान निर्देशन दिएपछि मर्जरमा जान बाध्य भएको बुधवार धनगढीमा आयोजित कम्पनीको पाँचौ वार्षिक साधारण सभामा अध्यक्ष प्रभातकुमार चौधरीले बताए ।

१० जिल्ला कार्य क्षेत्र रहेको कम्पनीले सो अवधिसम्ममा कञ्चनपुरमा बेलौरी नगरपालिका बेलौरी, कृष्णपुर नगरपालिका कृष्णपुर, वेदकोट नगरपालिका दैजी शाखा र कैलालीमा गोदावरी नगरपालिका गेटा, जोशीपुर गाउँपालिका जोशीपुर, कैलारी गाउँपालिका हसुलिया, घोडाघोडी नगरपालिका पहलमानपुर, भजनी नगरपालिका भजनी र गौरीगंगा नगरपालिका चौमालामा शाखा कार्यालय स्थापना गरेर वित्तीय सेवा प्रदान गर्दै आएकोमा पूँजी अभावका कारण राष्ट्र बैंकको नियमनअनुसार मर्जरको विकल्प नभएकाले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने प्रक्रिया अघि बढेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कुन्ना नारायण चौधरीले बताए ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी अधिकृत चौधरीले २०७७ मंसिर मसान्तसम्म पाँच हजार १०० कुल शेयर सदस्य संख्या रहेको बताउँदै उनले सो अवधिसम्म संस्था स्थापनादेखि गरेर कुल कर्जा लगानी एक अर्ब ६ करोड ९२ लाख ७४ हजार, स्थापना कालदेखि कर्जा असुली ७२ करोड ३७ लाख ९६ हजार र कुल लगानीमा रहिरहेको कर्जा ३४ करोड ५४ लाख ७८ हजार रहेको बताए । 

कुल १० ओटा शाखा कार्यालय मार्फत ४४५ केन्द्र संख्या र एक हजार २१ समुह संख्या पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सो अवधिसम्म संस्थाले सामुहिक जमानिमा तीन हजार ३०२ जनालाई कर्जा प्रभाव गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ सम्म कम्पनीको शेयर पूँजी दुई करोड ७६ लाख २५ हजार, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा सापटी ३१ करोड २३ लाख ३४ हजार दुई सय र बचत तीन करोड ७६ लाख ५८ हजार ४२६ रुपैयाँ देखिएको छ । सो अवधिसम्म १२ लाख २६ हजार ८२८ रुपैयाँ खुद नाफा आर्जन भएको प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए । 

उनले विभिन्न वाणिज्य बैंकहरुबाट कर्जा सापटी १३ देखि १५ प्रतिशतसम्म व्याजदरमा लिनुपर्दा तीन प्रतिशत मात्र मार्जिन राखेर हामीले कर्जा लगानी गर्नुपर्ने अवस्थाका कारण शेयरधनीहरुलाई लाभांश दिन समस्या भएको बताए । वाणिज्य बैंकहरुले दिने व्याजदर नै महँगो भएकाले आफूहरुले चाहेर पनि कम्पनीलाई आर्थिक रुपमा उचाईमा पुर्‍याउन केहि असहज भएको बताइएको छ । 

कार्यक्रममा संस्थाका सञ्चालक बुधराम चौधरीले पूँजी अभावकै कारण बाध्य भएर मर्जरमा जानुपर्ने अवस्था सिर्जना भएको बताए । थारु समुदायको बाहुल्यता रहेको उक्त संस्थाले क्रमिक रुपमा वित्तीय प्रगति हासिल गर्दै आएको अवस्थामा राष्ट्र बैंकको नियमन विभागको प्राप्ति वा मर्जरको निर्देशनले मर्जरमा जानु परेको बताइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्