ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना भाइरस र नेपालको अर्थतन्त्र

२०७७ माघ, १  
लेख | दृष्टिकोण
Image Not Found

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष तोकेको थियो र उसले तयारी पनि गर्दै थियो । तर, विज्ञहरूले त्यतिबेला नै आलोचना गरेका थिए । पूर्ण तयारीविना हतारमा गरिएको निर्णय भएकाले त्यसले राम्रो नतीजा दिँदैन भन्ने उनीहरूको तर्क थियो । तर, नेपालमा जुनसुकै सरकार आय पनि विज्ञहरूसँग रायसल्लाह लिएर गर्ने गरिएको छैन । नीतिगत रूपमा काम गर्न रुचाउँदैनन्, यसको प्रत्यक्ष प्रमाण भनेको हाम्रा राजनीतिक पार्टीहरूले चुनावको समयमा निकाल्ने घोषणा पत्र मात्रै हेरे पुग्छ । आजसम्म कुनै पनि पार्टीले घोषणापत्रअनुसार काम गरेका छैनन् र गर्न पनि चाहँदैनन् किनभने हाम्रो पार्टीहरूमा ग्रुपिङ छ । आप्mनै गुट उपगुटको स्वार्थ परिपूर्तिमा लाग्छन् । हाम्रा नेताहरू धेरै भोका छन् र उनीहरू सधैं नेतृत्वमा रहिरहन चाहन्छन् ।

कोरोनाका कारण थलिएको अर्थतन्त्रले आयात घटाएको छ । यो भनेको जनताको क्रयशक्ति घटेको हो ।

नेताहरू सरकार गिराउने र आफ्नो सरकार बनाउने तिकडम बाजीमा अहिले पनि लागिरहेका छन् । जनतामा प्रजातन्त्र आएपछि देशको विकासले तीव्रता पाउँछ भन्ने आशा छ । त्यही भएर एउटै दललाई अत्यधिक बहुमत दिलाए । तर, उनीहरूका बीचमा पनि कुरा नमिलेर अहिले बाझाबाझ छ । पार्टी फुटेको छ । सर्वसाधारण जनता आफ्नो दैनिकी टार्न भएको घरखेत बन्धक राखेर भए पनि विदेश जान बाध्य छन् ।

विना गहिरो अध्ययन कुनै मापदण्ड नै नबनाई अर्थात् कसले कति प्रदूषण गरेको छ र कतिसम्म धूवाँ निकाल्नेलाई विस्थापित गर्नै भन्ने योजनाविना २० वर्ष पुरानो गाडी हटाउने निर्णय भएको छ । तर, प्रदूषण बढी गर्ने गाडीहरूको बारेमा कुनै छानविन हुने गरेको छैन । सरकारले कतिको हचुवाका भरमा निर्णय गर्छ भन्ने कुराको यो एउटा उदाहरण हो ।

नेपाल भ्रमण वर्ष पनि सम्बद्ध क्षेत्रको विज्ञको सल्लाह नलिई हतारमा गरिएको निर्णय थियो । यो यसै पनि असफल हुने वाला थियो तर कोरोनाको प्रकोपका कारण देखाएर यसलाई स्थगित गरियो । भ्रमण वर्ष बनाएकै साल ८० प्रतिशत पर्यटक घटे । पर्यटन व्यवसाय ठप्प छ । व्यवसायी र कामदार ‘घरको न घाटको’ अवस्थामा पुगेका छन् ।
विश्वभरिबाट आएका पर्यटकले खर्चभन्दा नेपालका नेता कर्मचारी तालीम भ्रमणका लागि गरेको खर्च बढी देखिन्छ । नेपालमा एउटा नराम्रो चलन के छ भने यहाँका अशिक्षित र पीडित जनतालाई मीठो कुरा गरेर चुनावमा आफूलाई भोट हाल्न फकाउने गरिन्छ । चुनावका बेला नयाँनयाँ नारा ल्याइन्छ । नयाँनयाँ फन्डा निकालिन्छ । जनता ती नै कुराका पछि लाग्छन् । चुनाव जितिसकेपछि चाहिँ आफ्ना नातागोता र धुपौरेबाहेक अरू कसैको कुरा सुन्न मन पराउँदैनन् । त्यसैले जनताले दुःख पाइरहेका छन् ।

कोरोनाका कारण अर्थतन्त्रमा समस्या आएपछि सरकारले विदेशबाट ऋण लिने क्रम बढाएको छ । यसबाट जनताको टाउकोमा दिन परदिन ऋणको भार थपिँदै छ । कोरोनाले नेपाललाई ५० वर्षपछि धकेलिदिएको छ । यसमाथि सत्ता प्राप्तिको खेलले गर्दा देश झन् ठूलो संकटमा फसेको छ । पर्याप्त बहुमत भए पनि पदको लेनदेनबाट धेरै कुरा मिलाए पनि अन्ततः नेताहरूको महŒवांकाक्षका कारण देश मध्यावधि चुनावतर्फ जान बाध्य भएको छ ।

विकास निर्माणका विषयमा बहस नहुने तर कुर्सीको खेलका लागि भने न्वारानदेखिको बल निकाल्ने प्रवृत्ति अहिले देखिएको छ । कोरोनका बेलामा देशको संकट उतार्न दलहरू एकपटक मात्रै बैठक बसे । सत्तारूढ दल त एकपटक पनि यस विषयमा छलफल गर्न बसेको पाइँदैन । तर, अहिले दिनहुँ जुलुस र भेला भइरहेका छन् । तिनमा नेताहरू कुर्लिरहेका देखिन्छन् । विश्वका धेरै देशले आफ्ना नागरिकलाई कोरोना खोप दिने तयारी गरिरहेका छन् तर नेपाल भने कसैले सहयोग दिइहाल्छ कि भनेर कुरेर बसेको छ । कूटनीतिक पहलसमेत पर्याप्त भएको छैन । चीन र भारतसँग हाम्रो अति सुमधुर सम्बन्ध छ भनेर नेताहरू कुर्लन्छन् तर ती देशबाट कोरोनाको खोप ल्याउन भने कूटनीतिक पहल नाममात्रको भएको छ । त्यस्तो राम्रो सम्बन्ध हो भने उनीहरूसँग खोप किनेर ल्याउन सक्नुपर्ने हो तर त्यसो भएको पाइँदैन ।

नेपालले भारतभन्दा अर्को देश जान वा सामान ल्याउन लैजान (चीनबाहेक) भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । हाम्रो भारतसँग खुला सिमाना छ । विनापरिचयपत्र सीमा वारपार गर्न पाउने व्यवस्था छ । यसले देशको अर्थतन्त्रमा निकै ठूलो असर पारेको छ । भारत नेपालभन्दा विकसित देश भएकाले त्यहाँ उत्पादित सामग्री बलियो र सस्तो हुन्छ । त्यसैले त्यहाँको सामान सजिलै नेपाल भित्रन्छ । नेपालका उद्योगले भारतमा उत्पादित सामग्रीसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । भारतले बेला बेलामा नेपाललाई अनेक आरोप लगाउने गरेको छ । यसमा नेपालको पनि निकै कमजोरी छ । सुरक्षा चिन्तालाई राम्ररी सम्बोधन गर्न सकेको छैन । त्यसो हुँदा ऊ नेपालसित सशंकित भइरहेको हो । यस्तोमा भारतलाई विश्वासमा लिएर नेपालको विकासका लागि दिगो र बलियो आधार तयार पार्न सक्नुपर्छ ।

नेपालको अहिलेको विदेशी मुद्राको स्रोत भनेको हाम्रा युवा जनशक्तिले खाडी मुलुकमा बगाएको पसिना हो । कोरोनाका कारणमा यसमा कमी आउन सक्छ । यद्यपि अहिलेसम्म उल्लेख्य रूपमा विप्रेषण घटेको भने देखिँदैन । विदेशी मुद्राको आम्दानीको अर्को स्रोत पर्यटन ठप्प छ । यद्यपि पर्यटनबाट हुने आम्दानीको दाँजोमा खर्च बढी छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका केही तथ्यांक सकारात्मकजस्ता देखिए पनि ती सरकारी सुधार र हाम्रो आर्थिक क्षमताका कारण प्राप्त भएका होइनन् । कोरोनाका कारण थलिएको अर्थतन्त्रले आयात घटाएको छ । यो भनेको जनताको क्रयशक्ति घटेको हो । यसको असर तत्काल नदेखिए पनि बिस्तारै देखिन थाल्नेछ ।

विकास र राजनीतिको सम्बन्ध हुन्छ । राजनीतिक अस्थिरताले नीतिगत अस्थिरता निम्त्याउँछ । कर्मचारी तन्त्रलाई निष्क्रिय र गैरजिम्मेवार बनाउँछ । बजारमा पनि अराजकता बढ्छ जसले गर्दा जनता नै मारमा पर्छन् ।

लेखक नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्