ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड सार्वजनिक

२०७७ माघ, १  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । टुरिजम रिकभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल)ले पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल सार्वजनिक गरेको छ । बुधवार भर्चुअल रूपमा आयोजित कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. स्टेफेन रोसेक र टीआरटीएफ नेपालका संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले एचएचएस प्रोटोकल तालीम सार्वजनिक गरेका हुन् ।

परियोजनाले कोभिड–१९ महामारीपछि नेपाल सरकारद्वारा लागू गरिएको पर्यटनसँग सम्बन्धित सेवा प्रदायकका लागि महामारी र महामारीपछिका अवस्थामा पर्यटन सम्बन्धित सेवा तथा व्यवसाय सुचारु राख्न सरकारद्वारा स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकका लागि स्वास्थ्य तथा स्वच्छता सुरक्षा मापदण्ड म्यानुअल बनाउने लक्ष्य राखेको छ ।

कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. रोसेकले कोभिड–१९ विश्वव्यापी स्वास्थ्य संकटमात्र नभई आर्थिक संकटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको भन्दै यस क्षेत्रको पुनर्बहालीका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । जीआईजेडले नेपालको आर्थिक विकाससम्बन्धी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको चर्चा गर्दै उनले पर्यटनको विकासमा पनि जर्मन सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

टीआरटीएफ नेपालका संयोजक जोशीले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा असर पारेपछि नेपालका पर्यटन व्यवसायी र सरोकारवालाबीच गरिएको सर्वेक्षणमा ८५ प्रतिशत साना तथा मझौला व्यवसायीले तालीम, शिक्षा र सचेतना कार्यक्रमको खाँचो औंल्याएको जानकारी दिए । त्यही सर्वेक्षणका आधारमा गेट फाउन्डेसन र जीआईजेडको सहकार्यमा पहिलो चरणमा स्वास्थ्य तथा स्वच्छता सुरक्षा मापदण्डसम्बन्धी तालीम सञ्चालन गर्न लागिएको उनले बताए ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ ओटा नगरपालिकामा प्रशिक्षकहरू (स्थानीय च्याम्पियन्स) विकास गर्ने उद्देश्यले स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकलको प्रशिक्षण सामग्री र मार्गदर्शन तयार पारिएको जोशीले बताए ।

पाटा नेपाल च्याप्टरका कोषाध्यक्ष खेम लकाईले स्थानीय तहमा स्थानीय प्रशिक्षक निर्माण गर्दा स्थानीय स्तरमा आवश्यक परिवर्तनलाई सहयोग र पैरवी गर्ने अवसर सृजना हुने बताए ।

परियोजना संयोजक विवेक पौडेलले कार्यक्रमको पहिलो चरणपछि प्रशिक्षित व्यावसायीले प्रत्येक नगरपालिकामा २५० सेवा प्रदायकलाई थप प्रशिक्षण प्रदान गर्ने जानकारी दिए । यसरी पश्चिम नेपालमा कुल २ हजार ७५० सेवा प्रदायकहरू स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशिक्षित मानव संसाधन हुने उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्