ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना संकटले निम्तिएको आर्थिक समस्यामा दलहरूको बेवास्ता

२०७७ माघ, २  
पाठक विचार
NA

कोरोना महामारीका कारण समग्र अर्थतन्त्र प्रभावित भएको छ । खासगरी यसबाट आम्दानी र रोजगारी गुमाउन पुगेको वर्ग निकै मर्कामा छ ।

कोरोनाबाट निर्माण क्षेत्रमा ठूलो असर पर्न गएको छ । निर्माण सामग्री र कच्चा पदार्थहरू बाह्य मुलुकबाट आयात गर्नुपर्ने हुँदा समयमा नआउने वा उत्पादन नै बन्द हुने जस्ता समस्या देखिएका छन् । यही क्षेत्रमा अदक्ष तथा निम्न स्तरका जनताले बढी रोजगारी पाइरहेका हुन्छन् र अहिले त्यही वर्ग समस्यामा छ ।

नेपालमा उद्योगधन्दामा पनि भौतिक दूरी कायम राख्नुपर्नेलगायत कारणले करीब–करीब ७५–८० दिन बन्द रहे । यसले गर्दा अर्थतन्त्रका हरेक क्षेत्रमा ठूलो असर पुग्यो । परिणामस्वरूप उत्पादन घट्न पुगेको छ ।

कोरोना महामारीका कारण सबैभन्दा ठूलो असर सेवाक्षेत्रमा परेको देखिन्छ । हवाई क्षेत्रमा उडान भएको छैन भने पर्यटन क्षेत्र, यातायात क्षेत्रमा यसले ठूलो असर परेको छ ।
हाम्रो जस्तो कमजोर अर्थतन्त्र, पूँजीगतभन्दा चालू खर्च धेरै भएको, पूँजीगत खर्चका लागि पनि हामीले ऋण लिनुपर्ने अवस्थामा रहेको मुलुक अहिले अप्ठ्यारो अवस्थामा पुगेको छ ।

बन्दाबन्दीका कारण सामाजिक क्षेत्र, सेवा प्रवाह क्षेत्र, पूर्वाधार निर्माण, उत्पादन तथा खपत क्षेत्र, आपूर्ति क्षेत्र, शिक्षाक्षेत्र, स्वास्थ्य क्षेत्रलगायत सबै क्षेत्रमा असर पर्‍यो ।

सम्पन्न मुलुकहरूले आर्थिक क्षेत्र चलायमान राख्न विभिन्न सहयोग गरेको पाइन्छ । तर, नेपालमा सरकारले त्यस्तो सहयोग गर्न सक्ने अवस्था छैन । सकेको मद्दत पनि गरेको छैन ।

व्यक्तिहरूको ज्यान पनि जोखिममा नजाने र राज्यको साधनस्रोतले पनि ध्याउने हिसाबले अगाडि बढ्नुपर्ने हुन्छ ।

दैनिक ज्यालादारी मजदूरी गरेर खानेहरू, निजीक्षेत्रमा रोजगारी गरेर अहिले रोजगारी गुमाएकाहरू हुन्, आफ्नो पसिना, धनसम्पत्ति लगानी गरेर साना तथा मझौला उद्योग तथा व्यवसाय गर्नेहरू सबै मारमा परेका बेला नेपालका राजनीतिज्ञहरू भने आपूmलाई शक्तिशाली देखाउन तथा सत्तामा पकड बनाइराख्न कम्मर कसेर लागेका छन् । बहुमतको सरकार हुँदाहुँदै पनि जुँगाको लडाइँमा देशलाई नै संकटको भुमरीमा हालिदिएका छन् । यस्तो अवस्थामा आम मानिसमा निराश आएको छ । तर, राजनीतिक दलका कार्यकर्ता बढी भएको हुँदा आममानिसका चिन्ता ओझेलमा परेको छ ।

कोभिड १९ ले गर्दा अझै पनि मानिसहरूलाई तर्साइराखेको छ । योभन्दा कडा भाइरस अहिले केही देशहरूमा अझ सक्रिय भइरहेको समाचार आइरहेको छ । कोरोना भाइरस विदेशमा जस्तै छ तर यहाँ त्योबाहेक राजनीतिक भाइरस बढी सक्रिय छ । यसले गर्दा यहाँका नागरिक दोहोरो मारमा परिरहेका छन् । राजनीतिक विकृतिले गर्दा नागरिकहरू निराश हुनुपर्ने र तर्सेर बस्नुपर्ने अवस्था आएको छ ।

अहिले महँगी झनै बढेको नागरिकले महसूस गरेका छन् । दुकानैपिच्छे भाउ फरक रहेको पाइन्छ । व्यापारी तथा व्यवसायीको मनोमानीले गर्दा मूल्य बढिराखेको छ । सरकारको बेवास्ता तथा नालायकीपनले गर्दा मूल्यवृद्धि भइरहेको देखिन्छ । मध्याववधि चुनाव हुने भयो भने महँगी कति बढ्ने हो आकलन गर्न समेत गाह्रो छ । चुनावमा दलहरूलाई चन्दा दिने हुँदा त्यसको मार जनतामा नै पर्ने देखिन्छ । सरकारले पनि बेवास्ता गर्दा मूल्यवृद्धि निकै बढ्ने हुन्छ । विगतमा पनि यस्तो भएको छ ।

राजनीतिक दलका कार्यकर्ताले नेताले जे भने पनि ताली बजाउने गरेका छन् तर स्वाभिमान भएर रोजगार सृजनाका लागि सरकारलाई दबाब दिन भने चासो दिएका छैनन् । दलहरूलाई र सरकारलाई दबाब नदिने हो भने आगामी पुस्ताहरूको भविष्य राम्रो हुन कठिन छ ।

अहिले देशमा चर्को कर लिने गरिएको छ । एउटा राम्रो सरकारको काम हो करको दायरा बढाउनु न कि जनताको घाँटी कस्नु । अहिलेका लागि कर खुकुलो गर्नु नै उद्योग व्यवसायको द्रुत विकास हो ।

सरकारले कर जति नै उठाए पनि त्यो विकासमा खर्च भएको छैन । नेताहरूका विलासिताका लागी खर्च भएको छ । जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकारको कम चासो छ ।

यो देशमा एउटा ठूलो विडम्बना के छ भने नेताहरू राष्ट्र धन खर्चेर आसेपासे र कार्यकर्ता पालिराखेका हुन्छन् आफ्नो दल बलियो बनाउन । तर, यो गलत प्रक्रिया हो । त्यसले हरेक दलका नेताहरूले बुद्धि पुर्‍याउनु जरुरी छ । कसरी देशमा रहेको बेरोजगारी हटाउने भन्नेतर्फ ध्यान दिनुपर्छ । पर्यटन उद्योग तथा कृषि विज्ञहरूलाई अंगालेर द्रुत विकासका गुरुयोजना तयार पार्नुपर्छ । तर, नेपालमा कुर्सीको लोभ, आफ्नो मान्छेको नियुक्ति, विलासिता आदिमा नै नेतृत्व रमाएको देखिन्छ । त्यसकारण अनावश्यक गफ, झगडा आदिमा अल्झिएर नबसी प्रगतिका बाटोमा अघि बढ्ने खालका काममा लाग्नुपर्छ । पढेलेखेको, बुद्धिजीवी, विज्ञहरूले लालच, स्वार्थ, कुर्सी हान्ने तान्ने संस्कारलाई छोडी शिक्षा, स्वास्थ्य, राजमार्ग, पानी तथा उद्योग व्यवसायका लागि योगदान गर्ने समय आएको छ ।

कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र माथि उकास्नुपर्ने अवस्थामा राजनीतिक अस्थिरताले अर्थतन्त्रमा थप संकट परेको छ । देशमा घटेका पछिल्ला राजनीतिक घटनाक्रमले पुनः राजनीतिक अस्थिरता निम्तने देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण शिथिल बनेको अर्थतन्त्र उकास्नुपर्ने र उद्योग व्यवसायहरू बचाउनुपर्ने समयमा राजनीतिक द्वन्द्व निम्त्याएर दुर्भाग्यपूर्ण परिस्थति पैदा भएको छ ।

करीब २ तिहाइ बहुमतसहितको सरकार बनेको अवस्थामा राजनीतिक नभई आर्थिक मुद्दाले प्राथमिकता पाउनुपर्ने हो । राजनीतिक स्थायित्व हुनुपर्ने हो । तर, राजनीतिक संकटले मुलुकको अर्थतन्त्रमा थप नकारात्मक असर परेको छ । राजनीतिक अस्थिरतासँगै उद्योग व्यवसायमैत्री नीति निर्माणमा राज्यको ध्यान नहुने चिन्ता थपिएको छ । यसले मुलुकको अर्थतन्त्रमा निकै ठूलो असर पर्ने पक्का छ । कोरोना संकटमा नारा जुलुस गर्दा स्वास्थ्य समस्या त छँदै छ अर्थतन्त्रसमेत प्रभावित हुने भएकाले राजनीतिक दलहरू देशको अर्थतन्त्रप्रति चिन्तित हुनुपर्ने देखिन्छ ।

रमेशकेशरी वैद्य

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्