माघ २, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै गर्ने सर्वोच्च अदालतले निर्णय गरेको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासले शुक्रवार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासबाटै गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा शुक्रवार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो । आदेशमा भनिएको छ - ‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश देखिएकाले निवेदकको माग बमोजिम गर्नु परेन ।’
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतवारदेखि संवैधानिक इजलासमा निरन्तर बहस हुने पनि सर्वोच्चले जानकारी दिएको छ । संवैधानिक इजलास बुधवार र शुक्रवार मात्र बस्दै आएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाइ बृहत पूर्ण इजलासबाट हुनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो । अब प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ ओटा रिटको सुनुवाइ संवैधानिक इजलासले संयुक्तरुपमा गर्नेछ ।