माघ २, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पुर्याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताएका छन् ।
शुक्रवार आयोजित नागरिक एप्स’को शुभारम्भका क्रममा उनले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त एप्स महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे ।
उनले नागरिक एप्स नागरिकको सेवालाई सरल, सहज र छिटोछरितो बनाइ लाइनबाट नभई अनलाइनबाट सेवा प्रदान गर्ने महत्वपूर्ण प्रयास भएको बताए ।
साथै उनले सरकारी सेवा र सूचना हातहातमा कसरी पुर्याउन सकिन्छ, सबै कागजपत्रलाई सुरक्षित कसरी गर्न सकिन्छ भन्नेमा सरकार गम्भिर रहेको पनि बताए ।
अझै पारदर्शी बनाइ कम खर्चिलो र झन्झटबाट मुक्त पारी सबै सेवा दिने सरकारको चाहना रहेको बताउँदै उनले नागरिकका निम्ति सरकारी सेवा २४ सै घण्टा र विदाका दिनमा समेत प्राप्त गर्न सकोस् र नागरिकको सेवा सुदृढ एवं व्यवस्थित गर्न सकोस् भन्नेमा सरकार गम्भिर रहेको दावी गरे ।
नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सक्नेछन् । उक्त एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ ।
साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिनेछ ।
सो अवसरमा उक्त एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र लगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू थप गर्दै लगिने र हाललाई परीक्षणको रूपमा अघि बढाईएको नागरिक एपवाट प्रवाह गरिने सरकारी सेवाहरु पारदर्शी, भरपर्दो र सुरक्षित हुने पनि जानकारी दिइएको थियो ।