ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक

दुवै देशबीच बहुपक्षीय सहकार्यका विषयमा छलफल

२०७७ माघ, ४  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक शुक्रवार नयाँ दिल्लीमा सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अध्यक्षतामा सम्पन्न बैठकमा दुवै देशबीच बहुपक्षीय सहकार्यका विषयमा छलफल एवं समीक्षा भएको छ ।

बैठकमा दुवै पक्षले कनेक्टिभिटी, अर्थतन्त्र र व्यापार, विद्युत्, तेल तथा ग्यास, जलस्रोत, राजनीतिक एवं सुरक्षासँग  सम्बन्धित विषय, सीमा व्यवस्थापन, विकास साझेदारी, पर्यटन, संस्कृति, शिक्षा र क्षमता अभिवृद्घि लगायत विषयमा विस्तृत छलफल भएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी कोभिड–१९ महामारी विरुद्घ लड्न दुवै पक्षले देखाएको तदारुकताबारे बैठकमा चर्चा गरिएको थियो । भारतले कोभिसिल्ड र कोभाक्सिन नामक भ्याक्सिन उत्पादनमा पाएको सफलताका लागि नेपालले भारतलाई बधाई दिनुका साथै उक्त खोप यथाशीघ्र नेपालमा पनि उपलब्ध गराइदिन अनुरोध  गरेको थियो ।

यस्तै मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्ने तथा पूर्वी क्षेत्रमा भारतको सिलिगुडीदेखि नेपालको झापासम्म नयाँ पेट्रोलियम पाइपलाइनको स्थापना र सम्भावित रक्सौल–काठमाडौं ब्रोडगेज रेलवे लाइन सहित अन्य सीमापार रेल कनेक्टिभिटी परियोजनाबारे पनि छलफल गरिएको थियो । संयुक्त आयोग बैठकले सीमामा मानिसको आवतजावत तथा सामान ढुवानीका लागि सहजीकरण गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । हालै वीरगञ्ज र विराटनगरमा उद्घाटन भएका एकीकृत जाँच चौकीहरूले निर्बाध रूपमा मानिसको आवतजावत तथा सामान ढुवानीमा ठूलो मद्दत पु¥याएको बैठकको निष्कर्ष थियो ।

बैठकमा भारतले भैरहवामा छिट्टै नयाँ एकीकृत जाँच चौकीको निर्माण गर्ने जानकारी दिएको थियो । यस्तै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना लगायत दुवै देशका जनतालाई लाभ पुर्‍याउने अन्य संयुक्त जलविद्युत् परियोजना अघि बढाउनेबारे पनि छलफल भएको थियो । भारत सरकारको अनुदान सहयोगमा नेपालमा छिट्टै पशुपतिनाथ रिभरफ्रन्ट डेभलपमेन्ट र भण्डारखाल बगैंचा पुनःस्थापना परियोजना सञ्चालन गर्ने भारतले बताएको छ ।

शक्ति सन्तुलनमा भएको परिवर्तनलाई प्रतिबिम्बित गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई नेपालले समर्थन गर्ने बताएको छ । संयुक्त आयोगको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने मितिमा आयोजना गर्ने सहमति भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्