रोल्पा (अस) । रोल्पाको सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ र प्यूठानको स्वर्गद्वारी नगरपालिका जोड्ने घोडाखोलामा पक्की पुल बन्ने भएको छ ।
सडक पूर्वाधार विकास कार्यालय रोल्पाले निर्माण गर्न लागेको पुलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हालै शिलान्यास गरेका छन् । घोडागाउँका स्थानीयले वर्षायाममा खोला बढेसँगै आवतजावतमा समस्या खेप्दै आएका छन् । पक्की पुल निर्माण भएपछि आवतजावत र खाद्यान्न लगायत सामान ढुवानीमा सहज हुने भएको छ ।
आगामी ९ महीनाभित्र निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भएको पुलको लागत २ करोड ५९ लाख २२ हजार रुपैयाँ रहनेछ । २५ मिटर लम्बाइको उक्त पुल निर्माणको जिम्मा जलजला आशु जयमा स्वर्गद्वारी जेभीले पाएको छ ।
पुल शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले विकास निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाउन प्रदेश सरकार निरन्तर लागिरहेको बताए ।
यस्तै भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बजेट अभाव हुन नदिने भन्दै निर्माण व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरे । रोल्पाको सुलिचौरदेखि रुन्टिगढी गाउँपालिका हँुदै दाङ जान सबैभन्दा छोटो सडक भएकाले यसको स्तरोन्नति गर्न सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले माग गरे ।