ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकामा तरुलको निर्यात सम्भावना

अमेरिकामा तरुलको आयात रू. ९ अर्ब

२०७७ माघ, ५  
लेख | दृष्टिकोण
Image Not Found

वर्तमान समयमा पनि तरुलको महत्त्वमा कुनै कमी आएको छैन । विशेष गरी विकसित देशहरूमा तरुल भान्साको एक अपरिहार्य पक्षका रूपमा देखा पर्न थालेको छ । विश्वका १० प्रमुख तरुल आयातकर्ता मुलुकमा एशिया, यूरोप र अमेरिकी महादेशका सम्पन्न मुलुकहरूको बाहुल्य रहेको सन्दर्भमा यसको महत्त्व आफै स्पष्ट हुन्छ । खानाको थालीमा हरेक दिन एक टुक्रा तरुल खानुपर्छ भन्ने मान्यता विकसित मुलुकहरूमा स्थापित हुँदै गएको सन्दर्भमा भविष्यमा तरुलको मागमा वृद्धि हुने निश्चित प्रायः छ । सन् २०१९ को विश्व तरुल उत्पादन र जनसंख्यालाई आधार मान्दा विश्वको प्रतिव्यक्ति तरुल उपभोग करीब ६.५ केजी रहेको छ । नेपालमा भने माघे संक्रान्तिको आसपासमा नगण्यमात्रामा मात्र तरुल उपभोग गर्ने गरेको पाइन्छ ।

जस्तोसुकै माटोमा पनि फस्टाउन सक्ने र मलको त्यत्ति आवश्यकता नपर्ने तरुलको उत्पादन नेपालमा पनि प्रशस्तमात्रामा हुने गरेको छ । वितरणका दृष्टिबाट हेर्दा तराई र पहाडी जिल्लाहरूमा जताततै तरुल खेती हुने गरेको पाइन्छ । परन्तु तरुल मानवजीवनको महत्त्वपूर्ण पोषक तत्त्वका रूपमा रहिआए तापनि नेपालमा भने तरुल चाडपर्व केन्द्रित उपभोगमा सीमित हुन पुगेको छ । वर्षभरि हरेक दिन राण्नीतिक उपभोग गर्नुको साटो माघेसंक्रान्तिका आसपासमा हुने अधिक उपभोग ( हसु¥याइँ) ले गर्दा तरुलबाट लिन सक्ने जति लाभ लिन नसकेको अवस्था विद्यमान छ ।

उपर्युक्त परिस्थितिलाई दृष्टिगत गर्दै नेपालमा पनि तरुलको उत्पादन, उपभोग र निर्यातमा वृद्धि गर्न आवश्यक देखिन्छ । विशेष गरी नेपालमा यसको व्यावसायिक खेती गर्न आवश्यक वातावरण सृजना गरिनुपर्छ । यस वातावरण सृजनाभित्र तरुलखेतीलाई प्रोत्साहन गर्न त्यसअनुरूपमा प्रोत्साहनात्मक व्यवस्थाहरू गर्न जरुरी छ । यसका लागि तरुलखेती विकास कार्यक्रमको छातामा कृषकहरूलाई आवश्यक जानकारी, सूचना, प्राविधिक सहयोग र जग्गाप्राप्तिलाई सहज बनाउनुपर्छ । यसका साथै प्रारम्भिक चरणमा तरुलखेतीलाई प्रोत्साहित गर्न कम्तीमा छिमेकी मुलुकहरूले प्रदान गरेसरह अनुदान र प्रोत्साहन दिन पनि आवश्यक देखिन्छ । खरीद प्रत्याभूतिसहित तरुलको न्यूनतम समर्थन मूल्य तोकी यस खेतीलाई स्थायित्व र सुरक्षाको प्रत्याभूति दिनुपर्छ । परम्परागत रूपमा तरुलको महŒव अहम् रूपमा समाजमा स्थापित हुँदाहुँदै पनि वर्तमान समयमा तरुललाई केवल माघेसंक्रान्तिमा सीमित गरिएको सन्दर्भमा यसको पोषकीय गुणका बारेमा विज्ञहरूबाट प्रचारप्रसार हुन पनि जरुरी छ । यस व्यवसायलाई अनन्तकालीन करमुक्तिको व्यवस्थाबाट पनि थप संरक्षण गरिनुपर्छ । आन्तरिक बजार र उपभोगलाई थप व्यवस्थित गर्न यसको उत्पादन, वितरण र उपभोगका बारेमा अध्ययन र अनुसन्धान गर्न पनि जरुरी छ । तरुलका परम्परागत परिकारको संरक्षण, अभिलेखीकरण, अध्ययन र निरन्तरताको जति आवश्यक छ त्यत्ति नै आवश्यक छ, यसलाई आधुनिक परिकारसँग सामेल गर्दै दैनिक भोजनको अभिन्न अंग बनाउने कार्य पनि । तरुललाई राष्ट्रिय परिकारभित्र समावेश गर्न पनि जरुरी छ । तरुलका औषधीय गुणहरूका बारेमा थप अध्ययन हुनका लागि पनि यस क्षेत्रका अनुसन्धान मुलुक संस्थाहरू परिचालन हुन पर्ने देखिन्छ ।

आन्तरिक उत्पादन र बजारलाई थप व्यवस्थित गरिसकेपछि यसको निर्यात पाटोमा पनि आवश्यक रणनीतिहरू तर्जुमा गरिनुपर्छ । विदेशी मुलुकहरूका गुणस्तरका प्रावधानहरूलाई सम्बोधन गर्ने गरी तरुलको उत्पादन, भण्डारण, वर्गीकरण, लेबल र प्याकेजका क्षेत्रमा आवश्यक पहल लिनुपर्ने देखिन्छ । सरकारले कृषिक्षेत्रमा पनि विदेशी लगानीको वातावरण सृजना गर्ने गरी नीतिगत व्यवस्था गरी सकेको सन्दर्भमा सम्बद्ध देशहरूको बजारलक्षित लगानी भिœयाउन सरकार र निजीक्षेत्र दुवैतर्फबाट उत्प्ररेणात्मक पलह हुनुपर्ने देखिन्छ ।
नेपाली तरुलको विशेष पहिचानयुक्त ब्रान्डिङ हुन पनि आवश्यक देखिन्छ । यसका लागि हिमालयको फेदीमा उत्पादित, हिमजलबाट सिञ्चित, प्रांगारिक मल प्रयोग गरिएको उत्पादन आदि नाममा नेपाली तरुलको ब्रान्डिङ गर्ने हो भने यसले नेपाली तरुलको निश्चित स्वरूपको पहिचान स्थापित हुन जाने निश्चित छ । यसका अतिरिक्त नेपाली होटेल र रेस्टुराँहरूमा तरुलको स्पेशल मेनुको प्रचलन ल्याउन सकेको खण्डमा यसले नेपालमा तरुल उपभोगमा नयाँ आयात ल्याउने पनि देखिन्छ ।  

उपर्युक्त पक्षहरूमा ध्यान दिन सक्ने हो भने तरुलखेती नेपाली कृषकहरूका लागि वरदान सावित हुने र नेपालको निर्यात बास्केटमा नयाँ वस्तु थपिन जाने देखिन्छ । आईटीसीबाट प्रकाशित तथ्यांकअनुसार अमेरिकामा नै तरुलको आयात बजार करीब रू. ९ अर्ब जति रहेको र प्रतिकेजी मूल्य पनि रू. १८८ जति रहेको सन्दर्भमा त्यहाँको अमेरिकी बजारमा मात्रै पनि नेपाली तरुल पठाउन सक्ने हो भने नेपालको निर्यात क्षेत्रका लागि यो ठूलो फड्को हुने देखिन्छ ।  

लेखक व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्