माघ ५, सिंगापुर । दक्षिण एशियाको अनलाइन ट्याक्सी सेवा प्रदायक तथा फूड डेलिभरी कम्पनी ग्रयाबले यस वर्ष अमेरिकामा प्राथमिक शेयर निष्कासन (आईपीओ) निकाल्नेबारे विचार गरिरहेको छ ।
आईपीओ बजारमा लगानीकर्ताको बढ्दो रुची देखेर कम्पनीले यसबारे विचार गरेको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ ।
आईपीओबाट कम्पनीले कम्तिमा २ अर्ब डलर उठ्ने अपेक्षा गरिएको छ । यो दक्षिण एशियाली कम्पनीको अहिलेसम्मकै ठूलो सीमापार आईपीओ हुनेछ । अहिले बजार राम्रो रहेको र व्यवसाय पनि पहिलाको भन्दा राम्रो रहेको एक स्रोतले बताए ।
कम्पनीले अहिलेसम्म आईपीओको आकार र समय निर्धारण गरिसकेको छैन । बजारको अवस्था हेरेर तय गरिने बताइएको छ । सम्भावित आईपीओबारे रोयटर्सले सोधेको प्रश्नमा कम्पनीले कुनै पनि प्रतिक्रिया दिएको छैन ।
मलेशियामा सन् २०१२ बाट व्यवसाय शुरु गरेको ग्रयाब अहिले दक्षिण एशियाली क्षेत्रको सबैभन्दा मूल्यवान स्टार्टअप कम्पनी बनेको छ । यसको बजार पूँजीकरण १६ अर्ब डलर भन्दा धेरै छ । यसमा सफ्टबैंक कर्पोरेशन र मिसुबिशी यूएफजे फाइनान्सियल ग्रुपको आदि लगानीकर्ताहरुको लगानी रहेको छ । एजेन्सी