ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृषिमा विदेशी लगानीबाट नयाँ अवसर

२०७७ माघ, ६  
लेख | दृष्टिकोण
Image Not Found

पेशाप्रति आवश्यक दक्षताले व्यक्तिलाई उद्योमी बनाउँछ र उद्यमीहरूले नै उद्योगको निर्माण गर्ने हो । कृषकको निरन्तर लगावबाट कृषिजन्य उत्पादन प्रभावित हुन्छ । तसर्थ ‘घोकन्ति विद्या धावन्ति खेती’ भन्ने उक्ति बसेको पाइन्छ । नेपालमा लगभग ६५ प्रतिशत कृषक कृषिमा आबद्ध छन् उनीहरूले कृषिलाई नै प्रमुख पेशा बनाइरहेको पाइन्छ । तर, सरकारको कृषि केन्द्रित कार्यक्रम वास्तविक किसानसम्म नपुग्नु, पुगे पनि आवश्यकताभन्दा कमी हुनु, कृषिमा कम प्राथमिकता दिनु, सरकारले उपलब्ध गराउने प्रतिबद्धता गरेका कृषि तथा मल बीउ, उपकरण समयमा नै र सहुलियत दरमा उपलब्ध हुन नसक्नु आदि कारणले नेपाली कृषक उद्यमशीलताबाट टाढा हुन थालेका छन् । कृषिक्षेत्रमा विशिष्टता प्राप्त नयाँ प्रविधिको प्रयोग हुँदै जानुले उत्पादकत्वमा वृद्धि हुँदै जान्छ । यसमा भित्रने वैदेशिक लगानी नेपालको हित उन्मुख उपयोग गर्ने वातावरणले कृषिक्षेत्रमा विशिष्टता अभिवृद्धि हुन्छ, जसबाट दक्षतामा वृद्धि हुन गई मानिसलाई पेशाप्रति आकर्षण गर्छ । कृषि उत्पादन बजारमुखी भई गुणस्तरीय उत्पादनले प्रश्रय पाउँछ । गुणस्तरीय उत्पादनका कारण राष्ट्रिय उत्पादनमा अभिवृद्धि हुनुका साथै उत्पादक कृषक र उपभोक्ता सबै पक्षमा सकारात्मक परिवर्तन ल्याउँछ । स्वच्छ र स्वस्थ उत्पादनको उपभोगले सकरात्मक सोच र शान्तिपूर्ण जीवनयापनमा सहयोग गर्छ ।

योग्यता, शीप, दक्षताअनुरूपको काम पाउनु रोजगारी हो । रोजगारीले मानिसलाई आप्mनो पेशाप्रति दक्ष बनाई आम्दानी वृद्धि गर्न मद्दत गरिरहेको हुन्छ । आफ्नो दक्षताअनुरूप बजारको ज्यालादरमा काम गर्छु भन्दा पनि काम नपाउनु बेरोजगारी हो । यसले भएको शीपलाई क्षय गर्दै उत्पादनको गतिमा समेत ब्रेक लगाइरहेको हुन्छ । यसलाई न्यूनीकरण गर्न रोजगारी सृजना अपरिहार्य हुन्छ । कृषि नेपालको सबैभन्दा ठूलो उत्पादनमूलक क्षेत्र हो, यसमा सम्भावना र अवसरहरू प्रशस्त छन् । तिनको उचित व्यवस्थापनमार्फत यस क्षेत्रमा रोजगारी सृजना गर्न सकिन्छ । कृषिमा रहेका अदृश्य बेरोजगारी, अर्ध बेरोजगारी, मौसमी बेरोजगारीलाई आवश्यक लगानीमार्पmत व्यावसायिक उत्पादनमा उपयोग गर्दा पूर्णतः रोजगारीको सृजना हुन्छ । कृषि व्यावसायीकरणमार्फत उत्पादन उन्मुख लगानी नगरेकाले कृषि पेशा छायामा पर्दै आयो । अब देशको स्वार्थअनुरूप विदेशी लगानी भित्र्याउँदा रोजगारी र उत्पादन दुवैले गति लिने अर्थविद्हरूले बताउँदै आएका छन् ।

विगतदेखि कृषिसम्बन्धी भजन गाउँदै आइयो न यसले आत्मनिर्भर बनायो न प्रविधि नै अवलम्बन गर्न सिकायो । भजन केबल क्षणिक कानको मिठास मात्र बन्यो । अब कृषिको भजन होइन, माटोसँग क्रीडात्मक शारीरिक अभ्यास जरुरी छ । कृषिमा कस्तो वैदेशिक लगानी स्वीकार्ने, कस्तो नस्वीकार्ने सम्बद्ध कृषि विशेषज्ञहरूको सल्लाहमा सरकारले निर्णय गर्ने हो । सरकारले सम्बद्ध निकायको अध्ययन अनुसन्धानबाट प्राप्त सल्लाहसुझावका आधारमा निर्णय लिँदा देशमा कृषि उत्पादन बजारीकरण, रोजगारी सृजना र आयमा हुने वृद्धि सबैले बलियो बन्ने अवसर प्राप्त गर्छन् । कृषिमा ठूलो लगानी, आधुनिक प्रविधि भिœयाउन, आयातलाई विस्थापन गरी निर्यात प्रवर्द्धन गर्न, रोजगारी बढाउन कृषि उत्पादनमा विदेशी लगानीलाई अनुमति दिनु आवश्यक छ । तर, त्यो अनुमति नेपालको आवश्यकता पहिचान, नेपालीको हित र आर्थिक विकासमा टेवा पुग्ने विषयमा केद्रित हुनुपर्छ ।

नेपालमा वार्षिक २ खर्ब रुपैयाँ बराबरको कृषिसम्बन्धी वस्तु आयात भइरहेको छ । निर्यात हेर्ने हो भने आयातको २५ प्रतिशतसम्म पनि हुन सकेको छैन । हालसम्म नेपालको कृषि परम्परागत, निर्यातमुखी मात्रै भएकाले वर्षैपिच्छे आयात बढिरहेको हो । यस अवस्थामा शर्तसहितको कृषिमा विदेशी लगानी स्वीकार्नु उचित हो । यसले कृषिलाई आधुनिकीकरण गरी व्यावसायिक उत्पादनलाई प्राथमिकता दिन्छ । ससाना कृषि उत्पादनमा संलग्न निकायहरूले थप परिष्कृत हुने अवसर सृजना हुन्छ, उत्पादनको वृद्धि हुन्छ । दिनानुदिन बढिरहेको कृषि सम्बद्ध आयातलाई प्रतिस्थापन गर्न मद्दत गर्छ । कृषि भण्डारण र बजारीकरणमार्फत यस क्षेत्रलाई दिगो उत्पादनमुखी बनाउन सकिन्छ । अहिले वार्षिक बजेटको लगभग १५ प्रतिशत रकम बराबरको कृषि वस्तु आयात भइरहेको छ । हालसम्म नेपालमा कृषिअन्तर्गत माहुरीपालनमा ४ अर्ब, मत्स्यपालनमा ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब र दाना तथा कुखुरा पालनमा ४० अर्ब गरी जम्मा ८५ अर्बको लगानी भएको छ । यी लगानी निजीक्षेत्रको हो तर निजीक्षेत्रले डराउने होइन कि बलियो बन्ने स्थितिको सृजना कृषिमा वैदेशिक लगानीले गर्छ ।

कृषिमा विदेशी लगानी स्वीकार गर्दा आधुनिक प्रविधि भित्रन्छ, देशमा पूँजी भित्रन्छ, उत्पादन बढ्छ, बाँझो रहेको कृषियोग्य भूमिको उपयोग हुन्छ, रोजगारी वृद्धि हुन्छ, निर्यात बढ्छ, विदेशी मुद्रा आर्जन हुन्छ । यो नेपाल र नेपालीका लागि अवसर हो, जसले नेपाललाई कृषिको विश्व प्रविधि र बजारसँग जोड्छ । आफ्नो पूँजीले नभ्याएकाले विदेशी लगानी स्वीकार्ने हो । स्वीकारिएको लगानीलाई आवश्यकता र प्राथामिकताको आधारमा प्रयोग गरी विश्व बजारमा प्रतिस्पर्धी वस्तु उत्पादन गर्नुपर्छ । सानो पूँजी छ भन्ने कमजोर मानसिकताले सोच पनि सानै बनाउँछ । यसलाई त्याग्दै कृषिमुखी उत्पादनमा लाग्नु हाम्रो आवश्यकता हो ।

कृषि आफैमा सम्पूर्ण जीवको प्राणाधार हो । यो प्रकृतिको उत्कृष्ट देन हो, यसलाई संरक्षण, परिचालन र व्यवस्थापन गर्दा प्रकृति, जीव र वनस्पति सबैको हित हुन्छ । तसर्थ कृषिका लागि विदेशी लगानी स्वीकार गरी नेपालको उद्देश्यअनुकूल परिचालन गर्दा यसले प्रतिफल वृद्धि हुन्छ । कृषिअन्तर्गतको शान र मान अभिवृद्धि गर्न सहयोग गर्दै उच्च आयात भइरहेको कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्छ । निजी र सरकारी दुवै क्षेत्रले लगानीको उत्तम योजना बनाउन जरुरी छ । निजीक्षेत्र विरोधमा नलागी उच्च प्रतिफल दिने कृषिक्षेत्रको परिचालनमा लाग्न आवश्यक देखिन्छ ।

लेखक गणेशमान बहुमुखी क्याम्पसमा अर्थशास्त्रका अध्यापक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्