ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुणस्तरीय जीवनका लागि खानेपानी

२०७७ माघ, ७  
लेख | दृष्टिकोण
Image Not Found

पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीले ओगटेको छ । यसको करीब ७१ प्रतिशत पृथ्वीको भाग ढाकेको छ । पृथ्वीमा पाइएको जम्मा पानीको परिमाण १४० लाख क्यूविकमीटर छ, जसमध्ये ४० लाख क्युविकमीटर मात्र खानलाई सुरक्षित मानिन्छ । नेपालको कुल क्षेत्रफलको २ दशमलव ६ प्रतिशत पानीले ओगटेको छ । यहाँ सानाठूला गरी ८ हजार १०० भन्दा बढी नदीनालाहरू छन् । जुन बाह्रैमासे बहने नदीनाला ७० प्रतिशत र ७ महीना निरन्तर बग्ने नदीहरू २० प्रतिशत र १० प्रतिशत ४ महीना बग्ने नदीहरू रहेका छन् । नेपालमा २५ देखि ५०० किमीसम्मका लामा नदीहरू छन् ।

धेरै वर्ष पुरानो भौतिक संरचना, अस्तव्यस्त भागबन्डाको व्यवस्थापन आदि कारणले उपत्यकामा पानी वितरण असमान रहँदै आएको छ ।

गुणस्तरीय जीवनयापनका लागि प्रतिव्यक्ति दैनिक प्रयोगका लागि औसतमा १२५ लिटर पानी आवश्यक पर्छ । यस हिसाबले काठमाडाैंमा प्रतिदिन ३० देखि ३६ करोड लिटर पानीको माग रहेको देखिन्छ । काठमाडाैं उपत्यका खानेपानी लिमिटेडको दाबीअनुसार वर्षायाममा १३ करोड र सुक्खा याममा ९ करोड लिटर मात्र दैनिक रूपमा पानी उपलब्ध गराउन सकेको अवस्था देखिन्छ । त्यही पानी पनि कति स्वास्थ्यका लागि पिउनलायक छ भन्ने प्रश्न सधैं अनुत्तर नै छ । उपत्यकामा पानीको चुहावट ४० प्रतिशत भन्दा बढी छ । मोटामोटी आकलन गर्दा २५/२६ लाख काठमाडौंवासीको भागमा वर्षासमयमा ७/८ करोड लिटर र सुक्खा याममा ५÷६ करोड लिटर मात्र पानी पर्न जान्छ अथवा एक जनाको भागमा २४ देखि ३२ लिटर पानी पर्न जान्छ । यसमा पनि धेरै वर्ष पुरानो भौतिक संरचना, अस्तव्यस्त भागबन्डाको व्यवस्थापन आदि कारणले उपत्यकामा पानी वितरण असमान रहँदै आएको छ । काठमाडाैं महानगरीमा धेरै ठाउँमा हप्तामा १/२ घण्टा धारामा पानी आउँछ भने कति ठाउँमा महीनौंसम्म पनि पानीको तिर्खा मेटाउन धाराबाट नसकेको अवस्था छ । काठमाडाैं उपत्यकामा हिउँदमा करीब २८ करोड लिटर र वर्षामा २६ करोड लिटर पानी अपुग देखिन्छ । मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने आयोजना अझै बनिसकेको छैन ।

काठमाडौं उपत्यकाका केही स्थानहरू भूमिगत पानी पुनर्भरणको दृष्टिले महŒवपूर्ण छन् । पुनर्भरणका लागि राम्रा मानिएका स्थानहरू तीव्र शहरीकरण भई पक्की घर, अपार्टमेन्ट, हाउजिङ, सडक बिस्तार आदिले गर्दा ती स्थान पुरिँदै छ । काठमाडौंका गोङ्गबु, धापासी, साङ्लाखोला, नेपालटार, गोलढुङ्गा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, भीमढुङ्गा, खड्का भद्रकाली, बूढानीलकण्ठ, चपली, महादेवस्थान, सैबु, सीतापाइला, कीर्तिपुर, थानकोट, तीनथाना, बलम्बु, सतुङ्गल, कटुञ्जे, कपन, चुनिखेल, गोकर्ण, सुन्दरीजल, मूलपानी, नयाँपाटी, साँखु, थली, झोरमहांकाल, इचङ्गुनारायण, भक्तपुरको बोडे, मनहरा खोला आसपास, सिपाडोल, बालकोट आदि स्थानमा भूमिगत पानीको दोहन गरेको पाइन्छ । दूतावास, अस्पताल, अपार्टमेन्ट र आवास, होटल, स्कूल र कलेज, उद्योग तथा ट्याङ्करले गरी २ करोड ४९ लाख २१ हजार लिटर पानी दोहन गरेको पाइन्छ । यसैगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १६ लाख लिटर पानी भूमिगत स्रोतबाट संकलन गरेको दाबी छ । यही परिवेशमा बहुसंख्यक मध्यम वर्गीय व्यक्तिले जारको पानी प्रयोग गर्दै आएका छन् । सोही पानी पनि कति गुणस्तर छ, यकिन गर्न सकिएको छैन ।  कोभिड–१९ माहामारीको बेलामा सबैलाई पानीको बढी प्रयोग (छिनछिनमा मन तातो पानी खाइराख्नुपर्ने, साबुनपानीले हात धुनुपर्ने, सरसफाइमा विशेष ध्यान दिनुपर्ने) बेलामा पानीको अभाव भई रोकथाममा नै नकारात्मक असर परेको छ ।

नेपालमा पानीको समस्या हुनुको कारण यथास्थानमा भएका मुख्य तथा सहायक मुख्य मुहानको योजनाबद्ध विकास तथा संरक्षण नहुुनु हो । मुहान क्षेत्र आरक्षण क्षेत्र घोषणा गरेर वृक्षरोपण नहुनु, वर्षाको पानी संकलन प्रविधिलाई अभियानको रूपमा नल्याइनु, दिगो खानेपानी योजना बनाउन नसक्नु आदिले खानेपानीको समस्या चर्को भएको हो ।

गुणस्तर जीवन र आर्थिक विकासका लागि खानेपानी व्यवस्थापना तथा वितरणमा सुधारको आवश्यकता अपरिहार्य छ । खानेपानी र गुणस्तरीय जीवन र देश तथा जनताको आर्थिक विकासबीचको अन्तरसम्बन्ध बारेमा विभिन्न समयमा धेरै अध्ययन र अनुसन्धान भएका छन् । ती सम्पूर्ण अध्ययनको निचोडका रूपमा पानी नै जीवनको आधारशिला तथा गुणस्तरीय जीवन बिताउन पानीकै कारणले मात्र सम्भव भएको उल्लेख भएको पाइन्छ । साथै जनताको आर्थिक उन्नतिका लागि पानी नै आधारशिला हो । आज पृथ्वीमा जीवित सम्पूर्ण प्राणीले पानीलाई अमृतको रूपमा स्वीकार गरिसकेका छन् । वैज्ञानिकहरूले अनुसन्धानको क्रममा विभिन्न मानव तथा अन्य प्राणीको आवश्यकताका रूपमा नयाँ वस्तुको आविष्कार गर्न सक्षम भए पनि आजको एक्काइसौं शताब्दीसम्म पनि पानीको विकल्पका रूपमा अन्य वस्तुको विकास गर्न सकिएको छैन ।

पानी नै जीवन हो, किनभने मानव शरीरको संरचनामा ८० प्रतिशत पानी नै रहेको छ । हामी बस्ने पृथ्वीको दुई तिहाइ भाग पानीले ढाकेको छ भने हाम्रो गुणस्तरीय जीवनलाई शतप्रतिशत पानीले नै प्रमुख भूमिका खेलिरहेको हुन्छ । तैपनि माथिको बाधक तत्त्वले खानेपानीमा ठूलो नकारात्मक असर पु¥याएको छ । यी कारण खानेपानी व्यवस्थापना तथा वितरणमा अविलम्ब पुनः संरचनाको आवश्यक देखिन्छ । नयाँ बन्ने संरचनामा स्वतन्त्र, पारदर्शी र राजनीतिक हस्तक्षेपबाट मुक्त राखिने प्रतिबद्धता हुनुपर्छ । यो संस्थालाई नेपाली जनताको हितमा प्रयोग हुने अनुभूति दिलाउन सक्ने गुणात्मक सुधार, दिगो विकास गर्नुपर्छ । नेपालको राजधानीवासी तथा अन्य जिल्लाका जनतालाई खानेपानी, विद्युत्, कृषि आदिमा आत्मनिर्भर बनाई व्यक्ति तथा देशकै आर्थिक विकासमा लागौं ।

लेखक गुणस्तरीय जीवन विषयमा विद्यावारिधि हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्