ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

करार कानूनतः बदर हुन सक्छ

लागू हुन नसक्ने केही करार

२०७७ माघ, ७  
लेख | दृष्टिकोण
Image Not Found

दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीच कुनै काम गर्न या नगर्नका लागि भएको वैधानिक प्रतिफलसहितको सम्झौता जसलाई कानूनबमोजिम लागू गराउन सकिन्छ भने त्यो करार हो । तर, कुनै पनि करारमा कानूनविपरीतका उद्देश्यहरूका साथै सार्वजनिक नीति र नैतिकताविपरीतका उद्देश्यहरू छ्न भने त्यस्तो करार बदर हुने करारअन्तर्गत पर्छ । कानूनी रूपमा अस्तित्व शून्य हुनाले यस्ता करारहरू प्रारम्भदेखि नै शून्य हुन्छन् ।

कुनै पनि करारमा कानूनविपरीतका उद्देश्यहरूका साथै सार्वजनिक नीति र नैतिकताविपरीतका उद्देश्यहरू छन् भने त्यस्तो करार बदर हुने करारअन्तर्गत पर्छ ।

(१)    मुलुकी देवानी संहिता २०७४ को दफा ५१७ मा यससम्बन्धी व्यवस्था गरिएको पाइन्छ :
दफा ५१७ (१) मा कानूनबमोजिम मान्य नहुने करारलाई बदर हुने करार मानिनेछ : यस दफाअनुसार कानूनी उद्देश्य स्थापना गर्ने मनसाय नभएका र कानूनविपरीत गरिएका १२ थरीका करार बदर हुने करारअन्तर्गत पर्छन् ।

(२) देहायबमोजिमका करार बदर हुनेछ :
(क) कानूनले निषेध नगरेको पेसा, व्यापार वा व्यवसाय गर्नबाट कसैलाई रोक लगाइएको करार : तर देहायको अवस्थामा कुनै पेशा, व्यापार वा व्यवसायमा रोक लगाउने गरी करार भएको मानिने छैन ।

हरेक व्यक्तिलाई कानूनले निषेध नगरेको पेशा व्यवसाय गर्ने अधिकार संविधानले सुनिश्चित गरेको छ । व्यक्तिको त्यस्तो पेशागत र व्यावसायिक संवैधानिक अधिकारलाई निषेध गर्नेगरी भएको करार बदर हुन्छ । तर, त्यसका केही अपवादहरू नभएका भने होइनन्, त्यस्ता केही अपवादहरू कानूनमा व्यवस्थित छन् ।  
 
(ख) कानूनले निषेध गरेको विवाहबाहेक अन्य विवाहमा रोक लगाइएको करार :  विवाह प्रत्येक व्यक्तिको प्राकृतिक र नैसर्गिक अधिकार भएकाले कानूनले रोक नलगाएको विवाह गर्ने अधिकार सबै उमेर पुगेका नागरिकलाई प्राप्त छ । कानूनी विवाहसम्बन्धी अधिकारलाई रोक लगाउने गरी करार भएको रहेछ भने त्यस्तो करार मान्य हुँदैन ।

(ग) सर्वसाधारणले उपभोग गरिरहेको सुविधा कसैलाई उपभोग गर्नबाट रोक लगाइएको करार : सार्वजनिक सुविधा उपभोग गर्न पाउने विषय व्यक्तिको अधिकार हो । नेपालको संविधानको धरा १८ ले सार्वजनिक सम्पत्ति उपभोग गर्नबाट कसैलाई पनि वञ्चित गर्न नपाइने व्यवस्था गरेको छ । सार्वजनिक सरोकारको बाटोघाटो, सत्तल, इनार आदि सार्वजनिक प्रयोगको सम्पत्ति हो । कसैलाई त्यस्तो सम्पत्ति उपभोग गर्नबाट रोक लगाउने करार भएको रहेछ भने त्यस्तो करार मान्य हुँदैन ।

(घ) कसैले पाएको कानूनी अधिकार कुनै अदालतबाट प्रचलन गराई पाउनबाट रोक लगाइएको करार : कसैले आफ्नो कानूनी अधिकार हनन भएको छ या आपूmलाई अन्याय परेको महसूस गर्छ भने न्याय प्राप्तिका लागि कानूनी उपचार पाउने उसको कानूनी हक हो । यदि कसैलाई कानूनी अधिकार खोज्नबाट वञ्चित गराउने उद्देश्यले कुनै पनि व्यक्तिहरूका बीच करार भएको रहेछ भने त्यस्तो करार गैरसंवैधानिक र सार्वजनिक नीतिविपरीत भई स्वतः बदर हुन्छ ।

(ङ) कानूनको विरुद्धमा भएको वा प्रचलित कानूनले निषेध गरेको कुरामा भएको करार : करारका पक्षहरू करार गर्न स्वतन्त्र र स्वायत्त भए पनि कानूनले रोक लगाएको विषयमा करार गर्न सक्दैनन् । यदि त्यस्तो गरिएमा करार स्वतः बदर हुन्छ । गैरकानूनी उद्देश्य र विषयवस्तुका लागि करार गर्न सकिँदैन भन्ने करार कानूनको मुख्य सिद्धान्त हो ।

(च) अनैतिक उद्देश्यका लागि वा सार्वजनिक व्यवस्था (पब्लिक अर्डर) वा हितको विरुद्धमा भएको करार : समाज र राज्यले अनैतिक (सार्वजनिक मर्यादामा प्रतिकूल असर पर्ने नैतिकता विरुद्धको कार्य) मानेका विषय र सार्वजनिक नीति (राज्यले आप्mनो कामकरबाही र व्यवहार निर्धारण गर्न लिएको नीति) का विपरीत उद्देश्य राखी करार गरिएको रहेछ भने त्यस्तो करार स्वतः बदर हुन्छ ।

(छ) करार भएको विषयवस्तु करार गर्ने पक्षहरूलाई स्पष्ट रूपमा यकिन वा थाहा नभएबाट पूरा गर्न नसकिने अवस्थामा भएको करार : करारका शर्त स्पष्ट हुनुपर्छ । विषयवस्तु द्विअर्थी र अस्पष्ट हुनु हुँदैन । यदि करारको विषयवस्तु द्विअर्थी र अस्पष्ट भएमा त्यस्तो करार परिपालना गर्न सकिँदैन ।

(ज) करार गर्दाकै अवस्थामा पूरा गर्न असम्भव भएको करार वा काल्पनिक करार : करारले वैधता प्राप्त गर्नका लागि करारमा उल्लिखित शर्त, उद्देश्य र विषयवस्तु पूरा गर्न सकिने हुनुपर्छ, असम्भव हुनु हुँदैन ।

(झ) करारको विषयवस्तुको मनासिव अर्थ दिन नसक्ने भई अस्पष्ट रहेको करार : करारले वैधानिकता प्राप्त गर्न त्यसमा उल्लिखित शर्तहरूका साथै पक्षहरूको अधिकार र दायित्व निश्चित र स्पष्ट हुनुपर्छ । मनासिव अर्थ दिन नसक्ने, अस्पष्ट र दोहोरो अर्थ लाग्ने भएमा परिपालना गर्न कठिन हुन्छ ।

(ञ) करार गर्न अयोग्य व्यक्तिबाट भएको करार : करार गर्ने व्यक्ति सक्षम अर्थात् १८ वर्ष पूरा भएको, होश ठेगानमा रहेको र प्रचलित कानूनले करार गर्न योग्य रहेको हुनुपर्ने कानूनी व्यवस्था छ, यसको विपरीत करार गर्न अयोग्य व्यक्तिहरूबाट भएको करार स्वतः बदर हुन्छ । अयोग्य व्यक्तिले आफ्नो हकहित संरक्षण गर्न नसक्ने तथा आपूmले गरेको कामको परिणाम बुभ्mन नसक्ने हुनाले कानूनमा यस्तो व्यवस्था गरिएको हो ।

(ट) गैरकानूनी उद्देश्य भएको करार : करारको उद्देश्य र त्यसबाट प्राप्त हुने प्रतिफल दुवै वैधानिक हुनुपर्छ । यदि प्रचलित कानूनको विपरीत गैरकानूनी उद्देश्य राखेर करार गरिएको छ भने त्यस्तो करारले कानूनी मान्यता पाउँदैन ।

(ठ) करारको अत्यावश्यक तथ्यको विषयमा करार गर्दाका बखत करारका दुवै पक्षहरूको भूलबाट भएको करार : जुन विषयवस्तुको बारेमा करार गरिएको हो, त्यसको तथ्यका बारेमा दुवै पक्षहरूको बुझाइमा फरक प¥यो, भ्रामक बुझाइ भयो भने अर्थात करारमा तथ्यसम्बन्धी भूल भएकोमा त्यस्तो करार स्वतः बदर हुन्छ ।

(३) बदर हुने करार प्रारम्भदेखि नै अमान्य हुनेछ र यसबाट कुनै कानूनी परिणाम र पक्षहरूको हक र दायित्व सृजना हुने छैन । उपर्युक्त प्रकारका करारहरू बदर गराउन अदालत समक्ष फिराद उजुर गरिरहनु पर्दैन । करार गर्दाकै अवस्थादेखि या प्रारम्भदेखि नै स्वतः बदर हुने भएकाले यस्ता सम्झौताहरूलाई करार भन्न पनि कानूनी रूपमा मिल्दैन । यस्तो करारले पक्षहरूबीच कानूनी परिणाम का साथै अधिकार र दायित्व सृजना गर्दैन ।

(४) करारको कुनै अंश बदर भएमा पनि बाँकी रहेको अंश कानूनबमोजिम कार्यान्वयन हुनेछ । करार भइसकेपछि त्यस्तो करारको कुनै भाग बदर भए पनि त्यसै करारमा केही अंश कानूनबमोजिम छ भने त्यतिचाहिँ भाग कानूनबमोजिम कार्यान्वयन हुन्छ ।

यसरी बदर हुने करार प्रारम्भदेखि नै शून्य हुन्छ । समाजमा हुने अवाञ्छित कारोबार र गैरकानूनी क्रियाकलापलाई न्यूनीकरण गर्ने उद्देश्यले कानूनमा यस्तो व्यवस्था गरिएको हो । यस्तो करारले कुनै कानूनी परिणाम नदिनुका साथै सम्बद्ध पक्षहरूको हक र दायित्व सृजना गर्दैन । यस्तो करार बदर गराउन अदालत समक्ष जान पर्दैन, स्वतः बदर हन्छ । त्यसैले यसलाई बदर हुने करारअन्तर्गत कानूनमा व्यवस्था गरिएको हो ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्