ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बाघखोर–खम्बुखा सडक स्तरोन्नति अन्तिम चरणमा

२०७७ माघ, ७  
प्रदेश ०१
NA

भोजपुर । भोजपुरको बाघखोर–तिम्मा खम्बुखा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको २ करोड लागतमा गत असोजदेखि सो सडक स्तरोन्नतिको काम थालिएको थियो ।

वर्षायाममा पनि यातायात सञ्चालन गर्ने गरी सडक चौडा गर्ने, बढी हिलो हुने ठाउँमा ग्राभेल गर्ने, ग्याबिन भर्ने लगायत काम भइरहेको छ ।

हिउँदको समयमा जसोतसो यात्रा गर्दै आएका यस क्षेत्रका स्थानीयवासी वर्षात्को समयमा भने यातयात सेवाबाट वञ्चित हुँदै आएका थिए । करीब ८ किलोमिटर क्षेत्र भोजपुर नगरपालिकाको भू–भागमा पर्ने भए पनि नगरपालिकाले बेवास्ता गर्दा टेम्केमैयुङ–१ तिम्माका बासिन्दा समस्या भोग्नु परेको स्थानीयवासीको गुनासो छ ।

सडक स्तरोन्नतिले विगतका दिनमा कष्टकर यात्रा गर्दै आएका स्थानीयवासीलाई राहत पुग्ने वडा कार्यालयले बताएको छ । साथै वडा कार्यालयले स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राख्दै केन्द्र र प्रदेश सरकारसँग पहल गरेर सडक विस्तारलगायत अन्य विकास निर्माणका काम हुँदै आएको छ । ‘भोजपुर सदरमुकामसँग सहज पहँुच बनाउने यो सडकको स्तरोन्नति गरिरहेका छौं । सडकलाई १२ महीना नै सञ्चालनमा ल्याउने लक्ष्य छ,’ वडाध्यक्ष नरबहादुर राईले भने, ‘भोजपुरको रिङरोडको रूपमा विकास भइरहेको यो सडकलाई सेती बगरसम्म विस्तार गर्न गाउँपालिकाले पनि १ करोडको बोलपत्र आह्वान गरेर काम गर्ने तयारी गरेको छ ।’

वडामा आउने थोरै बजेटमा पनि सरोकारवाला निकायसँग समन्वय गरेर स्वास्थ्य, शिक्षा, कृषि, सडक विस्तारलगायत काममा वडा कार्यालयले गरिरहेको कामको स्थानीयवासीले प्रशंसा गर्दै आएका छन् । सडकलाई बाह्रै महीना सञ्चालन हुने तवरबाट विस्तार गरिनुपर्ने उनीहरूको भनाइ छ ।   
 
‘सडक विस्तार भएसँगै हाम्रो जीवनस्तरमा समेत परिवर्तन भएको छ, घण्टौंसम्म डोकोमा बोकेर यहाँका कृषि उपजलाई बजारसम्म लैजानुपर्ने अवस्था थियो । अहिले घर दैलोबाटै बजार लैजान पाएका छौं,’ स्थानीयवासी देवेन्द्र राउतले भने । कामलाई तोकिएको समय अगावै सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी यूडी बिल्डर्सले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्