ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुर्खेत यातायात कार्यालको आम्दानी बढ्यो : ६ महीनामा साढे ९ करोड राजस्व संकलन 

२०७७ माघ, ७  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

माघ ७, सुर्खेत । यातायात व्यवस्थापन कार्यालय सुर्खेतमा राजस्व संकलन हुने क्रम बढेको छ । कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो ६ महीनासम्म ९ करोड ५२ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको बताएको छ । 

यो अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिको तुलनामा ४९ दशमलव ३ प्रतिशतले बढी हो । उक्त आवको सोही अवधिमा कार्यालयले ६ करोड ३७ लाख ६६ हजार ४०० रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका लेखा अधिकृत रामप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार चालू आव २०७७/०७८ मा सबै भन्दा बढी कर सवारी साधनबाट ७ करोड ६९ लाख २३ हजार ८०० रुपैयाँ असुली भएको छ । 

त्यस्तै, चालक अनुमति पत्र सवारी दर्तातर्फ १ करोड ४७ लाख ७६  हजार ४०० संकलन भएको छ भने यातायात क्षेत्रको आम्दानी तर्फ २५ लाख ८ हजार ६०० रुपैयाँ राजस्व संकलन भएको दाहालले बताए । उनका अनुसार कार्यालयले गत वर्ष कुल १० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

कार्यालय प्रमुख आनन्द चपाईले गत वर्ष कोरोना महामारीका कारणले सवारी कर तिर्न नसकेका सेवाग्राहीले चालू आवमा सुर्खेतबाटै सहजरुपले कर बुझाएपछि राजस्व बढेको बताए । उनले यसअघि कर्णालीका धेरैजसो सेवाग्राहीले लुम्बिनी प्रदेशको बाँके स्थित नेपालगञ्जबाट सेवा लिने गरेपनि गत आवदेखि सुर्खेतबाटै शुरु भएपछि सेवाग्राहीलाई सहज भएको बताए ।

‘कोरोना महामारीका कारणले गत वर्ष चैत ९ गतेदेखि सरकारले नै कार्यालयबाट अत्यावश्यकीय सेवाबाहेकका काम बन्द गर्न निर्देशन दिएपछि नयाँ लाइसेन्सको आवेदन, सवारीसाधन दर्ता, नवीकरण, नामसारीलगायतका सेवा पूर्णरुपमा बन्द थिए,’ उनले भने, ‘गत आवमा राजस्व बुझाउन नसकेका सेवाग्राहीले चालू आवमा कर बुझाउनुका साथै सवारी साधनको वृद्धि हुनुले राजस्व संकलन अनुपातमा समेत वृद्धि भएको हो ।’ 

उनले प्रदेशमा सडक विस्तारसँगै यातायातको पहुँच बढ्दै गएकाले दुई पाङ्ग्रे मोटरसाइकल, स्कुटी,  कार, जीप, कृषियोग्य जमिनमा प्रयोग गरिने ट्याक्टरलगायत बाटो बनाउने डोजर, एक्साभेटरको संख्यामा समेत वृद्धि भएकाले राजस्व वृद्धि हुँदै गएको जनाए । 

कार्यालयका प्रशासन अधिकृत तिलकराम अधिकारीले वर्षैपिछे सवारी साधनको वृद्धिसँगै कार्यालयले सेवाग्राहीको सेवालाई चुस्त पारेपछि दिनहुँ सेवाग्राहीको संख्या बढ्दै गएको जनाए । 

उनले कार्यालयमा दैनिक २०० बढी सेवाग्राहीले यातायात कार्यालयबाट सेवा लिने गरेको बताए । कार्यालयको नियम अनुसार सवारी कर ढिलो बुझाएमा ३२ प्रतिशतसम्म जरिवाना लाग्ने र ५ वर्षसम्मको कर अग्रिम बुझाउँदा १० प्रतिशतसम्म छूटको व्यवस्था भएकाले पनि कर संकलनमा वृद्धि हुँदै गएको छ । 

सवारी साधन दूर्घटना भई क्षति भएमा क्षतिको बीमा दावी गर्न र मानविय क्षति भएमा सवारी नविकरण कागजात सम्बन्धित निकायमा बुझाउनु पर्ने प्रावधानले सेवाग्राही सचेत भएर समयमै कर बुझाउँदा  राजस्वमा वृद्धि हुने गरेको छ । कार्यालयले जाँचपास, पट्के सेवा, अस्थाई अनुमतिका सेवा, समेत दिँदै आएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्